काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपाल लगातार पाँचौं खेलमा पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपाल नेदरल्याण्ड्ससँग १० विकेटले पराजित भएको हो । नेदरल्याण्ड्सको भने यो तेस्रो जित हो । नेपालले दिएको १४६ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.४ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।नेदरल्याण्ड्सका लागि स्टेरे कालिस २ रनले शतकबाट चुकिन् । स्टेरे ९८ र फिबे मोल्केनबोअर ४८ रनमा अविजित रहिन् ।
यसअघि नेपालले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १४५ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले अर्धशतकीय पारी खेलिन् । ५१ बलमा ५ चौका प्रहार गर्र्दै पूजा ६२ रनमा अविजित रहिन् । पाँचौं बलमा सम्झना खड्का ६ र २.४ ओभरमा ममता चौधरी १ रनमा आउट हुँदा धर्मराएको नेपाली ब्याटिङलाई पूजा र कप्तान इन्दु बर्माको साझेदारीले सम्मानजनक योगफलतर्फ लग्यो ।
तेस्रो विकेटका लागि कप्तान इन्दु बर्मा र पूजाले ७८ रनको साझेदारी गरे । इन्दुले भने ३९ रन बनाइन् । रुबिना क्षेत्रीले २० रन बनाउँदा कविता जोशी भने ७ रनमा अविजित रहिन् । नेदरल्याण्ड्सका लागि आइरिस ज्विलिङले २ तथा हेदर सिगर्स र क्यारोलिन डे लाङ्गेले १–१ विकेट लिइन् ।