ललितपुर । ललितपुर महानगरपालिका–९ च्यासलस्थित मनोहरा खोला किनारमा च्यासल खेल मैदान गत असोजमा बाढीले बगरमा परिणत गरेको छ । खेलकुद क्षेत्रका अधिकारीले यसको मर्मतसम्भारका निम्ति तत्काल दुई करोड रुपैयाँ आवश्यक हुने बताएका छन् ।
च्यासल मैदानलाई पहिलेको अवस्थामा फर्काउन दुई करोड बजेट आवश्यक पर्ने राष्ट्रिय खेलकुद परिषद् पूर्वाधार निर्माण तथा मर्मत शाखाका इन्जिनियर पूर्ण सुनदासले बताए । “बाढीबाट भएको क्षति र मर्मतको लागतबारे अध्ययन गरी प्रतिवेदन तयार गरेका छौँ,” उनले भने ।
च्यासल फुटबल क्लबका अध्यक्ष रमेश बेञ्जनकार ललितपुर महानगरपालिका–९ वडा कार्यालयको सहयोगमा मैदान व्यवस्थापनको प्रयास भएको बताउँछन् । उनले मैदान मर्मतमा अखिल नेपाल फुटबल संघलगायत सरोकार भएकाहरू मौन रहेको भन्दै दु:ख व्यक्त गरे । खेलकुद परिषद्सँग १० लाख माग गरेको तर हालसम्म निर्णय नभएको उनको भनाइ छ ।
ललितपुर महानगरपालिका–९ का वडाध्यक्ष राजु महर्जन अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा मैदान मर्मत गरिनुपर्नेमा जोड दिन्छन् । दशरथ रंगशालाको विकल्पका रूपमा परिषद्ले २८ करोड खर्चेर २०७६ सालमा मैदान तयार गरेको हो । रासस