काठमाडौं । ताप्लेजुङस्थित मुक्कुम्लुङ पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकार निर्माणको विवाद बारे सरकार र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको छ ।
गृह मन्त्रालयबाट गठित वार्ता टोली र आन्दोलनरत विभिन्न पक्षबीच भएको सहमतिपछि पाथीभरा केवलकार स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने निर्णय गरिएको छ । स्टेसनसँग सम्बन्धित थप विषयमा आगामी माघ २७ गते विस्तृत छलफल गर्ने सहमति गरिएको हो । सहमति अनुसार, आन्दोलनका क्रममा घाइते भएकाहरूको निःशुल्क र प्रभावकारी स्वास्थ्य उपचार सरकारले गर्ने, माघ १२ गते भएको घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाही गरिनेछ ।
त्यस्तै आन्दोलनका क्रममा पक्राउ परेका बन्दीहरूलाई विना सर्त रिहा गर्ने प्रक्रिया अघि बढाइने छ भने मुक्कुम्लुङ संरक्षक पक्षले अनिश्चितकालीन यातायात बन्द फिर्ता लिने सहमति भएको छ ।
पाथीभरा केवलकार निर्माणलाई लिएर स्थानीय समुदाय, संरक्षणवादी समूह तथा विभिन्न किरात लिम्बु संस्थाहरू असन्तुष्ट रहँदै आएका छन् । उनीहरुले नो केबलकार अभियान चलाउदै शुरु गरेको आन्दोलनको क्रममा गत माघ १२ गते केवलकार निर्माण स्थलमा भएको झडपपछि पूर्वी नेपालका ९ जिल्लामा आन्दोलन भएको थियो ।