आई र यू इन्टरटेनमेन्ट र आगन इभेन्ट्सको संयुक्त प्रस्तुतिमा ‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ नामक शो हुने भएको छ । यो कार्यक्रम आगामी जुन र जुलाई महिनामा क्यानडाको विभिन्न शहरमा हुने आयोजक मध्येका एक जीआर भण्डारीले जानकारी दिए । उनले भने,‘हामीले विभिन्न कार्यक्रमपश्चात यो शो गर्न लागेका छौँ । यो शोमा हाँस्ने र नाच्ने हो ।’
नेपालीको चाँप बढेसँगै पछिल्लो समय क्यानडामा पनि नेपाली गतिविधि बढ्न थालेको छ । ‘अब हाँस्छ अनि नाच्छ क्यानडा’ मा कमेडियन सुमन कार्की, कैलाश कार्की, भरतमणि पौडेलको हाँस्यव्यङ्ग्य र मोडल करिश्मा ढकालको नृत्य हेर्न पाइने उनले जानकारी दिए ।
उनका अनुसार क्यानडाको टोरोन्टो, लन्डन, ओटावा, क्यालगरी, भ्यानकुभर लगायतका शहरमा कार्यक्रम हुनेछ ।क्यानडामा प्रस्तुति दिने खबरले कमेडियन सुमन कार्की उत्साहित छन् ।
उनले भने,‘क्यानडामा पहिलोपटक प्रस्तुति दिँदै छौँ । त्यहाँका लागि हामीले फरक रूपमा आफ्नो तयारी गरिरहेका छौँ । क्यानडामा नेपाली कार्यक्रम बढिरहेको सन्दर्भमा हामीले प्रस्तुति दिन पाउनु हाम्रो लागि सुखद हो । हामी दर्शकको समयको भरपुर सदुपयोग हुने किसिमको प्रस्तुतिको तयारी गरिरहेका छौँ ।’