एजेन्सी । उत्तरपश्चिमी टर्कीको एक स्की रिसोर्ट होटलमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । अरू ३२ जना जलेर घाइते भएको बताइएको छ ।
धेरै प्रयासपछि दमकलले आगो नियन्त्रणमा लिएको छ । घाइतेहरूलाई अस्पतालमा भर्ना गरेर उपचार गरिँदैछ । बोलु प्रान्तको कारतलकाया रिसोर्टको रेस्टुरेन्टमा राति आगलागी भएको टर्कीका मन्त्री अली येर्लिकायाले बताए । आगलागी भएपछि होटलमा कोलाहल मच्चिएको थियो । आगो फैलिएपछि आत्तिएर भवनबाट हाम फाल्ने क्रममा दुई जनाको मृत्यु भएको थियो ।
घटनाको समयमा होटलमा २३४ जना पाहुना थिए । आगलागीको कारण पत्ता लागेको छैन । यस घटनाको छानबिन भइरहेको छ । घटनास्थलमा ३० वटा दमकल र २८ वटा एम्बुलेन्स पठाइएको थियो । राहत र उद्धार कार्य भइरहेको भनिएको छ ।