अमेरिकामा चिसोको प्रभाव अझ बढ्ने देखिएको छ । त्यहाँको राष्ट्रिय मौसम सेवाले हिउँदे आँधीको चेतावनी जारी गरेको छ । यसका कारण पूर्वी तटका लाखौँ मानिसहरूले भारी हिमपातको सामना गर्नुपर्ने हुन सक्ने बताइएको छ । उत्तरी पेन्सिलभेनियादेखि मेनको शिखरसम्म देशको धेरैजसो भागमा चिसो फैलिनेछ ।
मध्य एट्लान्टिकका केही भागहरूमा १५ सेन्टिमिटरसम्म हिउँ पर्न सक्ने चेतावनी राष्ट्रिय मौसम सेवाले दिएको छ । यसबाहेक, न्यु इङ्गल्यान्डमा पनि हिमपात हुने भनिएको छ । म्यासाचुसेट्स, न्यु ह्याम्पशायर, मेन र कनेक्टिकटका केही भागहरूमा १० इन्च (२५ सेन्टिमिटर) सम्म हिउँ पर्न सक्ने बताइएको छ ।
आगामी दिनहरूमा न्यु इङ्गल्याण्ड र मध्य–एट्लान्टिक क्षेत्रमा हिउँदे आँधीको चेतावनी जारी हुन सक्ने र यसबाट ७ करोड मानिस प्रभावित हुने मौसमविद् मार्क चेनार्डले भनेका छन् । फिलाडेल्फिया, न्यूयोर्क र बोस्टन जस्ता प्रमुख सहरहरूमा पनि केही इन्चसम्म हिउँ पर्न सक्ने बताइएको छ ।
डकोटा र मिनेसोटामा माइनस ४० डिग्रीसम्म झर्न सक्ने तापक्रम चेनार्डका अनुसार, पूर्वी अमेरिकाको धेरैजसो भागले यस पटक रेकर्ड गरिएको सबैभन्दा चिसो तापक्रम अनुभव गर्नेछ । उत्तरी डकोटा र मिनेसोटामा तापक्रम माइनस ४० डिग्री फरेनहाइटसम्म झर्न सक्नेछ । ओक्लाहोमा र टेनेसी उपत्यकासम्म दक्षिणमा शून्य डिग्रीभन्दा कम तापमानमा हावा चल्ने बताइएको छ । एजेन्सी