बुधबार, माघ २३ गते २०८१

हुम्लाको खार्पुनाथमा औषधि अभाव, विरामी समस्यामा

हुम्लाको खार्पुनाथमा औषधि अभाव, विरामी समस्यामा

अखबार दैनिक
शुक्रबार, पुस २६ २०८१
  • हुम्लाको खार्पुनाथमा औषधि अभाव, विरामी समस्यामा

    हुम्लाको खार्पुनाथ गाउँपालिकामा यतिबेला औषधिको अभाव भएको छ । गाउँपालिकाभित्र रहेका सबै स्वास्थ्य संस्थामा एक महिनादेखि औषधिको अभाव भएको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । सरकारले निःशुल्क वितरण गर्ने औषधि अभाव हुँदा बिरामी समस्यामा परेका छन् ।

    images

    गाउँपालिकामा रहेका चारवटा स्वास्थ्यचौकी, एक सामुदायिक अस्पताल, एक आधारभूत स्वास्थ्य केन्द्र, छ वटा आधारभूत स्वास्थ्य एकाइमा यतिबेला औषधि अभाव भएको छ । गाउँपालिकाभित्र रहेका यि स्वास्थ्य संस्थामा उपचारका लागि सेवाग्राही गए पनि औषधि नहुँदा फिर्ता हुने गरेको बताउने गरेका छन् ।

    गाउँपालिकाभरिका स्वास्थ्य संस्थामा एक महिनादेखि सामान्य सिटामोल, ग्याष्ट्रिक, रुघाखोकी, दमलगायतका विरामीका लागि अति आवश्यक पर्ने औषधि नभएको स्वास्थ्यकर्मीले बताउने गरेका छन् । गाउँपालिकाले औषधि खरिदका लागि बोलपत्र आह्वान ढिला गर्दा औषधि अभाव भएको हो ।

    दशैँअघि पनि औषधि अभाव हुँदा रु पाँच लाखको औषधि गाउँपालिकाले गरिद गरेको थियो । दशैँमा खरिद गरेको पनि सकिएर पुनः औषधि खरिदका लागि टेण्डर आह्वान भएको गाउँपालिका स्वास्थ्य संयोजक हरिभक्त शाहीले बताउनुभयो । गाउँपालिकामा सबै औषधिको अभाव नभए पनि केही औषधिको अभाव भएको गाउँपालिका संयोजक शाहीले बताउनुभयो ।

    यस्तै गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले औषधि अभाव भएको जानकारी नभएको बताउनुभयो । तर गाउँपालिकाले यहाँका स्वास्थ्य संस्थामा चाहिँने औषधि र उपकरण खरिदका लागि टेण्डर आह्वान भएर स्वीकृत भएको सकेको बताउनुभयो । गाउँपालिकामा एक हप्ता माघ महिनाको पहिलो सातामा आइपुग्ने र चाँडो पुर्याउन ताकेता लगाउने अधिकृत शाहीले बताउनुभयो ।

    यतिबेला गाउँपालिकामा रहेका चारवटा स्वास्थ्यचौकीमा औषधि अभाव हुँदा उपचारका लागि बिरामी गाउँमै रहेका स्वास्थ्य संस्थामा नपुगेर जिल्ला अस्पताल सिमकोटमा पुग्ने गरेका छन् । गाउँमा रहेका स्वास्थ्यचौकीमा औषधि नपाइने भएपनि जिल्ला वा जिल्ला बाहिर उपचारका लागि जाने गरेको पाइएको छ । स्वास्थ्य संस्थामा अभाव हुँदा बिरामीले औषधि पाएका छैनन् । स्वास्थ्यचौकीमा औषधि लिन पुग्दा स्वास्थ्यकर्मीले औषधि छैन भनेर फर्काइदिने गरेको रायाँ गाउँका स्थानीय दलसुर परियारले गुनासो पोख्नुभयो ।

    केही दिनअघि बिरामीको चाप हुने रायाँ, छिप्रा, लाली, खर्पेगाउँमा रहेका स्वास्थ्यमा यतिबेला बिरामी नै आउन छोडेको बताइएको छ । खार्पुनाथको वडा नम्बर १ को पिउस आधारभूत स्वास्थ्य एकाइ, आधारभूत स्वास्थ्य एकाइ, वडा नम्बर ३ को कारङगा, वडा नम्बर ४ को लेख, छिप्रा आधारभूत स्वास्थ्य एकाइ, वडा नम्बर ५ को दुर्पा र ताक्ला आधारभूत स्वास्थ्य एकाइमा औषधिको अभाव भएको हो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ