काठमाडौँ । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर १ स्थित बरहाक्षेत्रमा आगामी २१ र २२ पुसमा श्रीधरणीधर विवाह महोत्सव आयोजना हुने भएको छ । धरणी अर्थात् पृथ्वी र धरको अर्थ हुन्छ धारण गर्नु या बोक्नु भन्ने भन्ने हुन्छ । भगवान विष्णुले श्रीबराहको अवतार धारण गरेर धरणीलाई शिरमा धारण गरेका कारण उनलाई धरणीधर भनिएको किम्बदन्ती छ ।
धरणीधर अर्थात बराह र धरणीकोबीच विवाह भएको खुसियालीको सम्झनामा विवाह महोत्सवको आयोजना गर्न लागिएको हो । विवाह महोत्सवले भक्तजनमा आनन्द महसुस हुने र बराहक्षेत्रको प्रचार प्रसार समेत हुने आयोजक बराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।
वाराहक्षेत्रमा कार्तिकशुक्ल एकादशीदेखि पुर्णिमासम्म ५ दिन, बालाचतुर्दशी, पुषे औशी, मकर सक्रान्ति र श्रवण शुक्ल तृतीया (बराह जयन्ती) मा पनि विशेष मेला लाग्ने गरेको मन्दिरका मुख्य पुजारी किरण भण्डारी बताउँछन् ।