काठमाडौं । चलचित्र ‘कार्साङ’को ‘सात भन्ज्याङ’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा डीपी खनालको शब्दरचना रहेको गीतमा एसडी योगीको संगीत छ । स्वर एडी योडी र रेश्मा पुन मगरको छ । रिकेश गुरुङले एरेन्ज छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारद्वय दयाहाङ राई र सिर्जना निङलेखुको अभिनय देख्न सकिन्छ ।
प्रेमिल गीतमा दयाहाङ र सिर्जनाको प्रेम देखाइएको छ । पुस २६ गते रिलिज हुने चलचित्र यम शेर्पाको डेब्यु निर्देशन हो । ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित छ ।
चलचित्रले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ । चलचित्रले दर्शकलाई शेर्पा समुदायको कला, संस्कृति र जीवनशैली नजिकबाट अनुभव गराउने अपेक्षा गरिएको छ । यो चलचित्रले दर्शकको मन जित्न सफल हुने विश्वास निर्माण पक्षको छ ।
चलचित्र ‘कार्साङ’मा दयाहाङ र सिर्जनासँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतका कलाकारको अभिनय रहेको छ । सिर्जना निङलेखुको यो डेब्यु चलचित्र हो ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।