राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर भएको छ। लामिछानेविरूद्ध सम्पत्ति शुद्धीकरणसँगै सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की जिल्ला अदालतमा मुद्दा दायर भएको हो। जिल्ला सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माका अनुसार लामिछानेको मात्रै २७ करोडभन्दा बढीको बिगो मागदाबी गरिएको छ। सम्पत्ति शुद्धीकरणमा मात्रै २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको हो।
उनीसँगै पूर्वडिआइजी छविलाल जोशीको ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँको स्रोत नखुलेको हुँदा उक्त रकम मागदाबी गरेको हो। उनीहरूसँगै जिबी राईको पनि सम्पत्ति जफत गर्न माग गरिएको छ।
आइतबार दर्ता गरिएको पुरक अभियोगपत्रमा ४४ जनालाई प्रतिवादी बनाइएको छ। जसमध्ये ३१ जनालाई सहकारी ठगीमा मात्रै कसुर दायर भएको हो। आठ वटा कम्पनी र पाँच जनाविरूद्ध सम्पत्ति शुद्धिकरणको मुद्दा दायर भएको हो।
सम्पत्ति शुद्धिकरणमा रवि, छवि, जिबी, उनका साझेदार रामप्रसाद खनाल र लिला पछाईविरूद्ध मुद्दा दायर भएको हो। यसअघि सरकारी वकिलले शुक्रबार जिबी राईसहित १९ जनाविरूद्ध थप अभियोग दर्ता गरेको थियो। यो मुद्दामा कुल एक अर्ब ५१ करोड रकमको बिगो मागदाबी गरिएको छ।