अभिनेता विजय बराल र नाजिर हुसेन नाटक अभिनयमा फर्किएका छन्। थापागाउँस्थित मण्डला नाटक घरमा आजदेखि नाटक 'हरि हजुरबा' मञ्चन हुँदैछ।
नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा मञ्चन हुने नाटकमा विजय र नाजिर दुवै देखिँदैछन्। साथमा रियुल्साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतको अभिनय रहनेछ। नाटक पुस २८ गते सम्म सोमबारबाहेक प्रत्येक दिन नाटक मञ्चन हुनेछ। शनिबार भने दिउँसो १ बजे र साँझ ५ः१५ बजे गरी दुइटा शो हुनेछन्।
चिठी पुर्याउँदै हिँड्ने हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको मार्मिक कथा नाटकमा प्रस्तुत हुनेछ। द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई नाटकले उजागर गर्ने जनाइएको छ। नाटकको निर्मातामा अभिनेताहरू दयाहाङ राई र बुद्धि तामाङ छन्।