आइतबार, वैशाख ८ गते २०८२

म्याग्दीको दोसल्लेबाट डेढ करोडको सुन्तला बिक्री

म्याग्दीको दोसल्लेबाट डेढ करोडको सुन्तला बिक्री

बिहीबार , पुस ४ २०८१
  • म्याग्दीको दोसल्लेबाट डेढ करोडको सुन्तला बिक्री

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजाले यस वर्ष सात लाख ५० हजार रुपैयाँ बराबरको  सुन्तला बिक्री गरे । ३५० बोट सुन्तला लगाएका उनले गत वर्ष दुई लाख ५० हजारको मात्रै सुन्तला बिक्री गरेका थिए । सुन्तला उत्पादन वृद्धि भएसँगै सुन्तलाबाट आम्दानी बढेको उनले बताए ।  

    images

    दोसल्लेमा विगत करिब १३ वर्षदेखि सुन्तलाखेती हुन थालेको थियो । सुन्तलाबाट मनग्य नगद आम्दानी हुन थालेपछि यहाँका किसान परम्परागत अन्नबाली लगाउन छाडेर सुन्तलाखेती विस्तारमा जुटेका छन् ।

    सुन्तलाखेतीलाई विस्तार र व्यावसायिक बनाउन दोसल्ले व्यावसायिक सुन्तला जात कृषक समूह गठन गरेर यहाँका स्थानीय सुन्तलाखेतीमा लागेका छन् । समूहका अध्यक्षसमेत रहेका पाइजाले गत वर्ष गाउँबाट ८० लाखको सुन्तला निकासी भएकोमा यस वर्ष एक करोड ५० लाख बढीमा व्यवसायीले बोटबाटै सुन्तला ठेक्का लिएको जानकारी दिए । 

    “यस वर्ष सुन्तलाको उत्पादन निकै राम्रो छ, अधिकांश किसानको सुन्तला बोटबोटै बिक्री भएको छ, व्यवसायीले पेस्की रकम किसानलाई उपलब्ध गराइसकेका छन्”, पाइजाले भने । दोसल्ले गाउँमा करिब १० हजार सुन्तलाका बोट छन् । दोसल्ले गाउँमा मात्रै होइन, जिल्लाभरमै सुन्तलाको उत्पादन बढेको छ । किसानले मूल्य विगतको तुलनामा राम्रो पाएका छन् । 

    सुन्तला बोटमा पहेँलपुर बनेर पाकेसँगै व्यवसायी बगैँचामै पुगेर सुन्तला खरिद गर्न थालेका छन् । अनुकूल मौसम, बगैँचाको राम्रो गोडमेल र व्यवस्थापनको कारण सुन्तलाको उत्पादन बढेको कृषि प्राविधिकहरुको भनाइ छ । बेनी नगरपालिका–३ राखुका किसान डेकबहादुर घर्तीले गाउँबाट गत वर्ष एक करोड रुपैयाँको सुन्तला बिक्री भएकोमा यस वर्ष एक करोड ६० लाखभन्दा बढी आम्दानी हुने अनुमान गरिएको बताए । 

    बेनी –४ बास्कुना गाउँमा मात्रै यस वर्ष सुन्तला बिक्रीबाट रु एक करोड भित्रिएको छ । यहाँका १६ घरधुरीले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । अगुवा किसान रहेका वडासदस्य सन्दीप खत्रीले गत वर्ष बास्कुनाबाट ८० लाखको सुन्तला बिक्री भएकोमा यस वर्ष उत्पादन बढेको कारण किसानको आम्दानी बढेको बताए । म्याग्दीमा ८१० हेक्टर जमिनमा  सुन्तलाखेती हुँदै आएकोमा ४२० हेक्टर जमिनको सुन्तलाका बोटले मात्रै फल दिने गर्छ । गत वर्ष जिल्लाबाट तीन हजार ६०० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ