काठमाडौं । आज देशभर ‘भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तहका साथै भ्रष्टाचारविरुद्ध तथा सुशासनका पक्षमा क्रियाशील विभिन्न सामाजिक सङ्घ संस्थालेसमेत विविध कार्यक्रमको आयोजना गरी यो दिवस मनाएका छन् ।
भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइरहँदा ट्रान्सपरेन्सी इन्टरनेसनललगायत संस्थाको अगुवाइमा काठमाडौँको माइतिघरस्थित सडकमा भ्रष्टाचार विरुद्धको अभियानप्रति ऐक्यबद्धता जाहेर गर्दै आज बिहान १० देखि ११ बजेसम्म एक घण्टा प्रदर्शन गरिएको थियोे ।
नागरिक समाजका अगुवा, विभिन्न सङ्घ संस्थाका प्रतिनिधिका साथै ट्राफिक प्रहरीबाट समेत ऐक्यबद्धता प्रकट गरिएको उक्त प्रदर्शनीमा न्याय निसाफमा हुने आर्थिक मोलमोलाइले देशलाई खोक्रो बनाउने विषय प्लेकार्डमा उल्लेख गरिएको थियो ।