जनकपुर।जनकपुरधममा साताव्यापी रूपमा मनाउने रामजानकी विवाहपञ्चमी महोत्सवको चौथो दिन आज (बुधबार) तिलकोत्सव मनाइँदै छ ।
तिलकोत्सवका अवसरमा हरेक वर्ष जानकी मन्दिर बाट पाहुर राम मन्दिर पठाइन्छ । यसपालि जानकी मन्दिरका महन्थ करिब एक हजार भार अर्थात पाहुर भार लिएर राम मन्दिरमा पुग्नेछन् । दिउँसो जानकी मन्दिर बाट भार बोकेर निस्कने टोली नगरको परिक्रमा गर्दै राम मन्दिर पुग्ने कार्यक्रम छ ।
तिलकोत्सव राम मन्दिरको प्रांगणमा मध्यान्ह देखि शुरु हुने छ । तिलकोत्सवका लागि राम मन्दिरको प्रांगणमा मञ्च बनाइएको छ । सो समारोहमा प्राचीन मिथिलाका राजा जनकको भूमिकामा र अयोध्या दरबारको प्रतिनिधित्व गर्ने राममन्दिरका प्रतिनिधि बीच सम्धी मिलन हुनेछ ।
यसअघि विवाहपञ्चमी महोत्सवको तेस्रो दिन मंगलबार जानकी मन्दिरमा बनाइएको मञ्चमा धनुष तोडिएको थियो । त्रेतायुगमा भगवान् रामले धनुष तोडेको स्मरणमा हरेक वर्ष विवाहपञ्चमीको समयमा जनकपुरधाममा धनुष यज्ञ हुन्छ । त्रेतायुगमा मंसिर शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झना स्वरूप परापूर्वकाल देखि धुमधाम सँग विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।
मर्यादा पुरुषोतम श्रीराम र आदर्श नारी सीता बीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन जनकपुरधाममा विवाह महोत्सव आयोजना गरिन्छ । सप्ताहव्यापी रूपमा मनाउने रामजानकी विवाह महोत्सवको पाँचौं दिन मटकोर तथा पूजा कार्यक्रम मनाइने र छैटौं दिन सीतारामको विवाह कार्यक्रम सम्पन्न भएपछि रामकलेवा गरी जन्ती एवं साधुसन्तलाई बिदाइ गर्दै विधिवत् रूपमा विवाह पञ्चमी महोत्सव समापन हुने गर्दछ । भारतको सीमावर्ती क्षेत्र र नेपालका विभिन्न स्थान बाट लाखौं श्रद्धालु रामजानकी विवाह महोत्सवमा सहभागी हुँदै आएका छन् ।