काठमाडौं । नेपाली चलचित्र‘डोरी’को शुभ मुहूर्त गरिएको छ । बिहीबार ललितपुरको झम्सिखेलस्थित युला सरस्वती मन्दिरमा क्यामेरा तथा स्क्रिप्ट पूजा गर्दै शुभ मुहूर्त गरिएको हो । आइतबारदेखि छायाङ्कन सुरु हुने यस चलचित्रले नेपाली चलचित्रमा नयाँ कथा र शैली पस्कने तयारी गरेको छ ।
मुहूर्त कार्यक्रममा चलचित्रका प्रमुख कलाकार र टिमका सदस्यहरूको उपस्थिति रहेको थियो । अभिनेता प्रवीण खतिवडा, अभिनेत्री अञ्जना बराइली, शिशिर बाङ्गदेल, राज पौडेल, वीरेन्द्र सिंह कुशवाहा, विशाल राई, मिलन राई, र नूतनलगायतका कलाकारहरूले पूजामा सरिक हुँदै फिल्मको सफलताका कामना गरे । साथै, निर्देशक अरुण लामा, कार्यकारी निर्माता राज थापा, छायाकार सौरभ लामा, र सङ्गीतकार राजनराज सिवाकोटी लगायतका टिमका मुख्य सदस्यहरूको पनि सहभागिता रह्यो । चलचित्रमा कविता आले, सजन श्रेष्ठ लगायतको पनि अभिनय रहनेछ ।
चलचित्रका निर्देशक भने अरुण लामा रहेका छन् । निर्देशकका अनुसार, फिल्मको कथाले दर्शकलाई सोच्न बाध्य बनाउनेछ । रहस्यमय घटनाक्रम र सन्देशमूलक कथाले सबै वर्गका दर्शकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
चलचित्रको लेखन निर्देशक अरुण लामाले नै गरेका छन् भने मनोज पण्डितले ‘स्क्रिप्ट डक्टरिङ’ गरेका छन् । यसका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । यसमा सङ्गीत राजनराज सिवाकोटी, सिनेमाटोग्राफी सौरभ लामा र एक्सन निर्देशन राजु तामाङले गर्नेछन् । ‘डोरी’ आगामी वर्ष सन् २०२५ मा रिलिज लक्ष्य राखिएको छ ।