सरकारले सर्वसाधारणका लागि आइतबार देखि सःशुल्क रुपमा धरहरा खुला गरेसँगै मानिसहरूको भीड बढेको छ। परीक्षणका रुपमा निःशुल्क खुला गरिएको धरहरा आजदेखि शुल्कसहित सञ्चालनमा आएपछि धरहरा चढ्नेको भीड लागेको हो।
सरकारले नेपाली सर्वसाधारणलाई २००, सार्क राष्ट्रका पर्यटकलाई ५०० र सार्क बाहेकका विदेशी पर्यटकहरूलाई १ हजार शुल्कसहित धरहरा खोलेको हो। धरहरा चढ्दा विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूले भने ५० प्रतिशत छुट पाउने छन्। सरकारले धरहरा व्यवसायीक रुपमा संचालन गर्नु स्वागतयोग्य भए पनि चढ्न लाग्ने शुल्क बढी भएको अधिकांश सर्वसाधारणको गुनासो छ।
विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूलाई सहुलियत दिएको भन्दै ज्येष्ठ नागरिक भने हर्षित भएका छन्। धरहरा चढ्न पाउँदाको अनुभव सुनाउँदै काभ्रेकी विष्णुमाया गिरीले खुसी व्यक्त गरिन। आयआर्जनका लागि सरकारसँग धेरै विकल्प रहेको बताउँदै उनले धरहरालाई व्यवसायका रुपमा चलाउन नहुने बताइन।
त्यस्तै नवलपुरकी सुनिता सापकोटाले सरकारले कम शुल्क तोकेको खण्डमा अझै धेरै सर्वसाधारण चढ्न पाउने धारणा राखिन। २०७२ सालको भूकम्पमा भत्केको धरहराभन्दा पुनर्निर्माण गरिएको धरहरा अझ व्यवस्थित रहेको सर्वसाधारणको अनुभव छ।