काठमाडौँ । केही अगाडि स्टेज कार्यक्रम र सानो पर्दा अभिनयमा फर्किएका कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ फिल्ममा पनि फर्किएका छन् । कुमार कट्टेल ‘जिग्री’को निर्देशन रहेको फिल्म ‘लाज शरणम्’बाट उनी फिल्ममा फर्किएका हुन् । फिल्मको हाल डोल्पामा छायाङ्कन भइरहेको छ । फिल्ममा उनी मुख्य भूमिकामा रहेका बताइएको छ ।
२०७२ को भूकम्पपछि सामाजिक कार्यमा सक्रिय उनी त्यसपछि चितवनमा रङ्गशाला निर्माणमा जुटेका थिए । सोही समय ‘सेन्टी भाइरस’ फिल्म अभिनय गरेका उनी त्यसपछि अभिनयबाट टाढा रहेका थिए ।
‘लाज शरणम्’मा सितारामको अलवा अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, विजय बराल, महेश त्रिपाठी, कमलमणि नेपाल, हरिस निरौला, रेनुनाथ योगी, सागर लम्साल, बबिन राई, प्रियना आचार्य, माला लिम्बू लगायतको समेत अभिनय रहनेछ । फिल्मको प्रदर्शन मिति आगामी फागुन १४ गते शिवरात्रिलाई तोकिएको छ ।