चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा चीन भ्रमणमा गएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेताहरू बुधबार स्वदेश फर्किने भएका छन् । उपसभापति डा स्वर्णिम वाग्लेको नेतृत्वमा शनिबार दश दिने चीन भ्रमणमा गएको रास्वपाको टोली सोमबार नै नेपाल फर्किने बताइए पनि टिकट नपाउँदा बुधबार मात्रै फर्किने भएका हुन् ।
चिनियाँ कम्युनिस्ट पार्टीको निम्तोमा ७ जना सांसद र ७ जना गैरसांसदसहित १४ जनाको टोली शनिबार राति चिन गएको थियो । तर सभापति रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणले फरक राजनीतिक घटनाक्रम बनेपछि टोली सोमबार नेपाल फर्किने योजना बनाएको थियो ।
उपसभापति वाग्लेसहित, अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, कोषाध्यक्ष लिमा अधिकारी, कार्यवाहक प्रवक्ता मनिष झा, नेताहरु गणेश पराजुली, तोसिमा कार्की, असिम शाह, शिव नेपाली, बसुमाया तामाङ, निशा मेहता, पुकार बम, प्रकाश विष्ट, तपेश्वर यादव र खुश्बुराजा श्रेष्ठ चीन गएका थिए ।
सहकारीको बचत रकम अपचलन संसदीय छानबिन समितिले गोर्खा मिडिया प्रालि मार्फत सहकारीको रकम अपचलन गरेको भन्दै जीबी राई, रास्वपा सभापति रवि लामिछाने, कुमार रम्तेल र छविलाल जोशीलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको छ ।
सोही प्रतिवेदन अनुसार कारबाही अघि बढाउन गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई आग्रह गरेकै दिन आइतबार छविलाल पक्राउ परेका थिए । उनलाई जिल्ला अदालत कास्कीले सोमबार ५ दिन थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    