काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाली समुदायसँग गर्ने भनिएको अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको छ ।
नेपाली महावाणिज्य दूतावास न्युयोर्कका अनुसार न्युयोर्कमा आइतबार बेलुकाको लागि कार्यक्रम तय भएकोमा सुरक्षा लगायत विभिन्न कारण स्थगित गरिएको हो ।
महावाणिज्य दूतावासले जारी गरेको सूचनामा तयारी पूरा भए पनि अन्तिम समयमा प्रधानमन्त्री ओली राष्ट्र संघको महासभा, समिट अफ द फ्युचर र अन्य साइडलाइन भेटवार्तामा व्यस्त भएको र समारोह स्थलको सुरक्षा संवेदनशीलताको बारेमा सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी कार्यक्रम स्थगन गरेको जनाएको हो ।