काठमाडौं । दसैंतिहारका लागि असोजको पहिलो सातादेखि अग्रिम बस टिकट बुकिङ खुल्ने भएको छ । सरकारले दसैँतिहार र छठ पर्वलक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज पहिलो सातादेखि खुला गर्ने भएको हो ।
एयरलाइन्सहरूले दसैँका लागि भनेर अग्रिम बुकिङ खुलाउँदैनन् तर पछि अभाव हुने र हवाई भाडा महँगो हुँदै जाने डरले यात्रुहरूले दसैँलाई भन्दै अग्रिम बुकिङ थालिसकेका हुन् ।
वायुसेवा सञ्चालक सङ्घका अनुसार अनलाइनबाट सहज रूपमा टिकट पाइने भएपछि अधिकांश हवाई गन्तव्यको टिकट बुकिङ सुरु भइसकेको छ ।
दसैँलक्षित अहिले सुगमभन्दा दुर्गम गन्तव्यतर्फको टिकट बुकिङमा यात्रुको चाप देखिएको छ । दसैँको १५ दिनअगावै लामो दुरीका सवारीको अग्रिम टिकट खुला गर्ने गरिँदै आएको छ । यस पटक पनि समयमै खुला गरी सहज र सुरक्षित यात्रा गराइने तयारी छ ।