शुक्रबार, कात्तिक १६ गते २०८१

अनुकूल वर्षाले धानखेती लहलहाउँदो

अनुकूल वर्षाले धानखेती लहलहाउँदो

बिहीबार , भदौ २० २०८१
  • अनुकूल वर्षाले धानखेती लहलहाउँदो

    यसपालि साउन मध्ययता भइरहेको अनुकूल वर्षाले धानखेतीका किसान खुसी छन् । असारसम्म राम्ररी पानी नपर्दा ढिलो रोपाइँ सकेका यहाँका किसानलाई साउन मध्ययताको दुई÷तीन दिनको फरकमा परिरहेको पानी ‘अमृत’ झैं बनेको छ ।

    images

    समयसमयको वर्षाले साउन मध्यताकाको रोपो पनि लहलहाएको देख्दा किसान यसपालि अपेक्षित धान फल्ने आशमा छन् । महोत्तरीसहितका मधेशका अधिकांश ठाउँमा बुधबार रातिदेखि परेको पानी धानबालीलाई अनुकूल भएको किसानको भनाइ छ ।

    “असारमा पानी नपर्दा रोपाइँ अलि ढिलो भयो, तर साउन मध्यताका रोपिएको धानलाई भने त्यसयताको अनुकूल वर्षाले मद्दत गरेको छ”, भङ्गाहा–४ का ८० वर्षीय किसान दीपबहादुर फुयाँल भन्नुहुन्छ, “भदौ लागेदेखि नै धानका लागि अनुकूल वर्षा भइरहेको छ, यसपालि धानबाली राम्रो भित्रिने आश जाग्यो ।”

    साउन मध्ययता परीरहेको पानीले रोपोलाई हलक्क बढाएको फुयाँल बताउनुहुन्छ । भदौ तेस्रो साता चल्दै गर्दा अहिले परेको पानी अघिल्लो रोपो पोटाउन र पछिको रोपो गाँजिन मद्दत पुगेको फुयाँल बताउनुहुन्छ । जिल्लामा यसपालि समयमा बीउ तयार नहुँदा र पानी नपर्दा धान रोपाइँ पछि परेको थियो । अधिकांश किसानले साउन मध्यदेखि तेस्रो साताबीचमा धान रोपेका हुन् ।

    साउन मध्यअघि रोपिएको धानखेतमा धजा फाटेको सम्झदै किसान त्यसयता भने राम्रो पानी पर्दा धान मज्जाले लहलहाएको बताउँछन् । “साउन मध्ययता धानलाई अमृत नै बर्सेको छ”, बर्दिबास–२ का किसान तारानाथ आचार्य भन्नुहुन्छ, “अब धान राम्रो फल्छ ।”

    साउन मध्यअघिको प्रचण्ड राप र खडेरी सम्झदै किसान त्यसयताको अनुकूल वर्षाले उत्साहित बनेका छन् । “धानको रोपो पानी नभएर पहेँलिदै गएको थियो, तरकारीबालीका लहरा र बोट सुक्दै गएका थिए”, भङ्गाहा–४ थारुटोल बनराका ७५ वर्षीय किसान रामधारी सिंह थारु भन्नुहुन्छ, “बालीनालीबाट आस मर्दै गएका बेला साउन मध्ययता केही दिनको फरकमा परिरहेको पानी अमृत भएको छ ।”

    साउन मध्ययताको वर्षा मन्दमन्द परिरहेको र धानखेतमा सधैं नयाँ पानी बगिरहेपछि धानको रुखी (रुप) फेरिएको किसान बताउँछन् । पछिल्ला वर्षाले नयाँ तरकारी खेती भने लगाउन दिएको छैन । तरकारी बाली लगाउन पानी रहेर (वर्षा थामिएर) सतहको माटो रुखो हुनपर्ने हुँदा अनुकूलता नमिलेको किसान बताउँछन् ।

    नयाँ बाली लगाउन नपाए पनि पहिलेका तरकारीका बोट र लहरा समुचित चिस्यान पाइरहेपछि फेरिएका छन् । पुराना बोट र लहरामा मनग्य चिचिला र फल लागेका भङ्गाहा–४ का तरकारी उत्पादक किसान बहुरा महतो बताउनुहुन्छ ।

    पछिल्लो वर्षा किसानका लागि मात्र नभएर ज्यालादारीमा काम गरेर गुजारा गर्ने श्रमिक, डुल्दै व्यापार गर्ने साना व्यापारी र आम सर्वसाधारणलाई पनि ‘अमृत’ बनेको छ । गर्मीको प्रचण्ड रापले काममा जान नसक्दा गुजारा सङ्कटमा परेका श्रमिक अचेल दुई÷तीन दिनको फरकको वर्षाले मौसम शीतल बनाएपछि नियमित काममा जान पाएका छन् ।

    गाउँगाउँ÷बस्तीबस्ती डुल्दै आफ्नो सामानको व्यापार गर्ने श्रमिक व्यापारी पनि अब हिँडडूल गर्न सकिने भन्दै खुसी भएका छन् । “पानी पर्दै दुई÷तीन दिन थामिदै गरेको छ, मौसम शीतल बनेपछि यसले काममा हिँड्न सहज छ”, औरही–७ का घुमन्ते व्यापारी श्रीराम साह भन्नुहुन्छ ।

    जिल्लामा यसपालि साउन मध्ययताको वर्षाले अपेक्षित धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र कार्यालयले जनाएको छ । यसपालि ९० प्रतिशतको हाराहारीमा धान रोपाइँ भएको र बाली पनि अहिलेसम्म सन्तोषजनक रहेको कार्यालयका बाली विकास अधिकृत राजकिशोर यादव बताउनुहुन्छ ।

    जिल्लामा कुल करिब ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये करिब ४५ हजार हेक्टर धानखेतीका लागि योग्य मानिन्छ । पानी रामै्र चाहिने धनखेतीलाई यहाँ कुलो नहर लाग्ने स्थायी सिञ्चित खेत १० प्रतिशतमात्र हुँदा आकाशे पानीकै भरमा खेती गर्नुपर्ने बाध्यता छ । यही अवस्थाले ठिक समयमा धानखेती लगाउन नपाइएको किसान बताउँछन् ।

    यो अवस्था अन्त्य गरी सिँचाइ सुविधा बढाउन पछिल्ला वर्षहरुमा भूमिगत सिँचाइका योजना सञ्चालन गरिएका कार्यालयले जनाएको छ । यसअन्तर्गत स्यालोट्युबेल, बोरिङ्ग, इनार, पम्पसेट जडानमा ७५ प्रतिशतसम्म अनुदानसहित किसानलाई सिँचाइ कार्यमा सघाउ पुर्‍याउन कृषि विद्युत मीटरको प्रबन्ध गरिएको यादवको भनाइ छ । रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार