आइतबार, असोज ४ गते २०८३

जुम्लामा विद्यार्थीले गर्छन् ‘भाउअ पत्रकारिता’

जुम्लामा विद्यार्थीले गर्छन् ‘भाउअ पत्रकारिता’

मंगलबार, भदौ १८ २०८१
  • जुम्लामा विद्यार्थीले गर्छन् ‘भाउअ पत्रकारिता’

    जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका-५, खलंगाको एक स्कुलले भाउअ अर्थात् बाल पत्रकारिता सुरु गरेको छ । एसिया इन्टरनेसलन स्कुलका बालबालिकाले ‘भाउअ (बाल) पत्रकारिता’ सुरु गरेका हुन् । कर्णाली क्षेत्रमा बालबालिकालाई भाउअ भन्ने गरिन्छ ।

    ‘भाउअ पत्रकार’हरुले विद्यालयमा अध्ययन गर्नुका साथै समाजका सबैखाले गतिविधिको सूचना संकलन गरी कोरपाटी अनलाइनमार्फत नागरिक तहमा पु-याउन हरेक बिहान समाचार सम्प्रेषण गर्दछन् । यसमा कक्षा ८ र १० का ४४ जना बालबालिकाले दैनिक विद्यालय र समाजमा घटित घटनाको सूचना संकलन गर्दै आइरहेका छन् ।

    स्कुलका संस्थापक मनोज बुढाथोकी मगरले ‘भाउअ पत्रकारिता’ समाज रुपान्तरणको द्योतक भएको बताए । राज्यका सरकारी, सामुदायिक, सार्वजनिक, निजी तथा सरोकारवाला सबैलाई आफ्नो कामप्रति जवाफदेही, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यले यो सुरु गरिएको उनको भनाइ छ ।

    ‘भाउअ पत्रकारले जो कोहीसँग जिज्ञासा राख्ने एवं प्रश्न मात्र गर्दैन, यसले देश दुनियाँले के गरिरहेको छ । समाजको प्रकृति, स्वरुप र संरचनाका बारेमा पनि अध्ययन, अनुसन्धान गर्दछ’, उनले भने, ‘आफ्नो व्यक्तित्व विकासका साथै सरोकारवालालाई कर्तव्यनिष्ठ, नागरिकमैत्री र जवाफदेही बन्न उत्प्रेरित गर्दछ ।’

    यसबाट बालबालिकालाई घोकाउने, कण्ठ गर्न लगाउने नभइ मैदानमै पुगी जिज्ञासु भएर सिक्ने वातावरण निर्माण गराउने र सिकाईमैत्री क्रियाकलापमा जोड दिने मिल्ने उनको दाबी छ । उनका अनुसार ‘भाउअ पत्रकारिता’ले बालबालिकाको डर घटाउनेछ । कोठाभित्र घोक्ने संस्कृति विस्थापित गर्नेछ ।

    ४४ जना ‘भाउअ पत्रकार’ हरेकले ‘महिनामा मिडियाका लागि एक दिन’ कुनै क्षेत्रको सूचना सङ्कलन गर्ने र प्रत्येक दिन बिहान ७ बजे समाचार वाचन गर्ने कार्यतालिका बनाइएको छ । यसबाट सामाजिक व्यक्तित्व निर्माणका लागि वादविवाद, अन्तरवार्ता, समूहगतरुपमा प्रतिभा पहिचान कार्यक्रमसमेत गरिने स्कुलको भनाइ छ ।

    उक्त स्कुलमा कक्षा ८ मा अध्ययनरत छात्रा करुणा रावलले ‘भाउअ पत्रकारिता’ले व्यक्ति, समाज र समुदाय बुझ्न सहयोग पुगेको बताइन् । ‘कक्षा कोठामा बसेर किताबमा अक्षर पढिँदो रहेछ । बाहिर पुग्दा व्यक्ति र समाजको आचारण बुझिँदो रहेछ,’ रावलले भने, ‘थोरै समयमा पढेर सिक्ने भन्दा भोगेर सिक्ने कुरा बढी खँदिलो हुँदोरहेछ ।’

    छात्र सङ्गम भण्डारीले ‘भाउअ पत्रकारिता’ले नयाँ खोजप्रति जिज्ञासा जगाएको बताए । पत्रकारितामार्फत श्रम संस्कृतिको सम्मान, बालविवाह, कुप्रथा, भ्रष्टाचार, स्वास्थ्य तथा शिक्षाको अवस्था, सरसफाइ, खाना संस्कृति, वन्यजन्तु, वन वातावरण संरक्षणलगायतका विषयलाई संवाद, लघुनाटक, वक्तृत्वकला, निबन्ध प्रतियोगिता जस्ता गतिविधि गरेर समाजलाई सही सन्देश दिने कोसिस गरिने उनको भनाइ छ ।
    रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ