आइतबार, असोज १८ गते २०८३

एक करोड खर्च भएको पोखराको लेखनाथ रंगशाला बन्यो घाँसेमैदान

एक करोड खर्च भएको पोखराको लेखनाथ रंगशाला बन्यो घाँसेमैदान

अखबार दैनिक
मंगलबार, साउन १५ २०८१
  • एक करोड खर्च भएको पोखराको लेखनाथ रंगशाला बन्यो घाँसेमैदान

    सोमबार साँझ केही युवा लेखनाथ रंगशालामा फुटबल खेलिरहेका थिए। खेलाडीले प्रहार गरेको बल घरी घाँसभित्र घरी हिलोमा पुग्थ्यो। यद्यपि उनीहरू उत्साहका साथ  खेलिरहेका थिए। मैदानको छेउमा किशोरहरू पनि फुटबल अभ्यासमा रमाइरहेका थिए। 

    फुटबल, भलिबलदेखि सन्ध्याकालीन हिँडडुल र व्यायामका लागि पुगेकाहरूको चहलपहल रंगशालामा थियो। बिहानबेलुका करातेलगायत मार्सल आर्टका खेलाडी पनि अभ्यासका लागि त्यहाँ पुग्छन्। कभर्ड हल नभएका कारण उनीहरू खुला आकाशमुनि अभ्यास गर्न बाध्य छन्। वर्षा याममा रंगशालाको ‘ट्रयाक’ हिलाम्मे हुने भएकाले अभ्यासपूर्व खेलाडीहरू दौडनसमेत पाउँदैनन्। 

    आठ वर्षअघि निर्माण सुरू भएको बहुउद्देशीय कभर्ड हल बीचमै अलपत्र परेपछि ‘इन्डोर’ खेलको पनि चौरमै प्रशिक्षण गराउनुपर्ने बाध्यता छ। पोखरा महानगरपालिका– २९ स्थित यो रंगशालामा पूर्वाधार नहुँदा व्यवस्थित ढङ्गले खेल गतिविधि सञ्चालन गर्न कठिन भएको छ। पोखरा रंगशालाको विकल्प मानिएको लेखनाथ रंगशालामा भौतिक पूर्वाधार बनाउनुपर्नेमा स्थानीय खेलाडीले जोड दिएका छन्। 

    आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङले रंगशालामा बनेका संरचना अलपत्र परेकामा दुखेसो गरे। रंगशालाको ट्रयाक मापदण्डअनुसारको नभएको उनले बताए। प्यारापिट पनि लथालिङ्ग छ। “अहिले ठूला खेल प्रतियोगिता सञ्चालन गर्न सकिने अवस्था छैन”, उनले भने, “सामान्य खेल अभ्यासका लागि पनि पूर्वाधार अभाव छ।” 

    पोखरा महानगरको खेलकुद विकास समितिका पदाधिकारी बजेट अभावले रंगशालाबन्न नसकेको बताउँछन्। आठ वर्षअघि रंगशालाभित्र निर्माण थालिएको बहुउद्देश्यीय कभर्ड हल पनि बजेट नहुँदा अलपत्र परेको छ। 

    बजेट नहुँदा कभर्ड हल निर्माण तीन वर्षदेखि ठप्प छ। हालसम्म त्यसमा रु एक करोड १० लाख खर्च भइसकेको छ। आव २०७४ र २०७५ मा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट रु ११ लाख बजेटबाट कभर्ड हलको काम सुरु भएको थियो। 

    राष्ट्रिय खेलकुद परिषद्ले रु ५० लाख, प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले रु २५ र तत्कालीन प्रदेशसभा सदस्य दीपक कोइरालाको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रु २५ लाख बजेट खर्च भइसकेको छ। उक्त बजेटबाट भुइँतलाको पिलर र पर्खाल बनाइएको छ। पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले रंगशालामा पूर्वाधार तयार गर्न महानगर, प्रदेश र सङ्घ सरकारको लगानी चाहिने बताउए। 

    खेलकुद हेर्ने निकाय र खेल पदाधिकारीको उपेक्षामा लेखनाथ रंगशालापरेको उनको टिप्पणी छ। “राज्यको स्रोतसाधन जुटाएर लेखनाथ रंगशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्नुपर्छ”, उनले भने। लेखनाथ रंगशालालाई पूर्वाधार सम्पन्न बनाउन पोखरा महानगरले अगुवाइ गर्नुपर्ने स्थानीयवासीको माग छ। 

    कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँले पोखरालाई खेल पर्यटनको गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताए। “खेल क्षेत्र सरकारको कम प्राथमिकतामा छ, पोखराको खेलकुद विकासमा प्रदेश सरकारले पनि वेवास्ता गरिरहेको छ”, उनले भने।
    रासस

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ