सोमबार, मंसिर १० गते २०८१

आज साउन १५- खिर खाने दिन

आज साउन १५- खिर खाने दिन

अखबार दैनिक
मंगलबार, साउन १५ २०८१
  • आज साउन १५- खिर खाने दिन

    काठमाडौं । आज साउन १५ अर्थात् खिर खाने दिन । आजको दिनलाई खिर खाने विशेष दिनको रुपमा लिइन्छ अर्थात् श्रावणको मध्यविन्दु खिरको लागि प्रचलित छ । असार १५ मा दही च्यूरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार तथा सहयोगीहरुले असारको व्यवस्तताबाट केही राहत मिलेपछि  खीर खाने गर्दछन् ।

    images

    वर्षाको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने गरिएको मान्यता रहिआएको छ । परापूर्वककालदेखि नै पुर्खाहरुले मौसम अनुसार श्रम र मानव स्वास्थ्यलाई सन्तुलनमा राख्न यस प्रकारको भोजनलाई चलनचल्तीमा ल्याएका हुन् । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि यो खाने प्रचलन बसेको बुझ्न सकिन्छ । बर्षा समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ, संक्रमणबाट बँच्न खिर खाने गरेको पाइन्छ ।

    साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खिरलगायत मिठाइ विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खिर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् भट्टराई बताउनुहुन्छ । तर यसको कुनै शास्त्रीय वचन भने छैन ।

    ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएका ब्राह्मणलाई पायस अर्थात् खिर खुवाउने गरिएको थियो । अहिले पनि वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रुपमा गाईको दूधमा पायस अर्थात् खिर बनाउँछन् ।

    चामल, सावधाना, सेवइ, मकै, गाजरलगायतको खिर बनाउने गरिन्छ । सावधानालाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिर समेत बनाएर खाने चलन छ । खिर खाँदा देवतालाई चढाएर खानुपर्छ भन्ने धार्मिक विश्वास रही आएको छ ।

    सनातन वैदिक सभ्यताअनुसार पूजाआजा तथा शुभकार्यमा खीरलाई प्रसादका रुपमा लिइन्छ । पारिवारिक भेटघाट तथा चाडपर्व र विशेष दिनमा खीरको पोषिलो परिकार बनाई खाने चलन रहेको छ । दूध, घिउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र वर्षे कामको थकानबाट बच्नका लागि समेत खीर खाने चलन रहेको जानकारहरु बताउँछन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार