काठमाडौं । गत बुधबार काठमाडौंमा जहाज दुर्घटना भएपछि सौर्य एयरलाइन्सले पहिलो आधिकारिक धारणा सार्वजनिक गरेको छ । शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै एयरलाइन्सले यो दुर्घटनाबाट अकल्पनीय क्षति बेहोर्न पुगेको बताएको छ ।
एयरलाइन्सका अध्यक्ष दीपककुमार पोखरेलले दुर्घटनामा ज्यान गुमाएका कर्मचारी र सहयोगीहरुको निधनले आफूहरु भावविह्वल बनेको बताए ।
विज्ञप्तिमा भनिएको छ,"सौर्य एयरलाइन्स प्रा.लि. को स्थापनाकाल देखि एउटै परिवारको रुपमा रही काम गर्दै आएका हाम्रा अनन्य मित्र एवम् सहयोगीहरुको मिति २०८१-०४-०९ गते अकल्पनीय जहाज दुर्घटनामा परी दिवंगत हुनु भएकोमा हामी अत्यन्त मर्माहत र भावविह्वल भएका छौ। यस दुर्घटनामा परी ज्यान गुमाउनु हुने प्रतिष्ठित यति धेरै विज्ञहरुको क्षतिको कल्पना नै गर्न सकिन्नँ। यस कम्पनीले मात्रै होइन, परिवार, समाज र राष्ट्रले समेत होनहार विज्ञ व्यक्तित्व गुमाउनु परेको यस दुःखद घडीमा शोकमा रहनुभएका सम्पूर्ण परिवार र आफन्तजनहरुमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी भगवानसँग प्रार्थना गर्दछौं।"
पीडित परिवारलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग, साथ र सदभाव रहने विश्वास समेत कम्पनीले दिलाएको छ ।
"पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्ने सम्मको सहयोग, साथ र सदभाव सधैं रहने विश्वास दिलाउँछौ । साथै, यस दुर्घटनामा परी बाँच्न सफल हाम्रा अनन्य मित्र क्याप्टेन मनिष शाक्यको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौं," विज्ञप्तिमा भनिएको छ ।