सोमबार, मंसिर १० गते २०८१

चितवनमा रेलमार्ग सर्भे टोलीको गाडीमा स्थानीयले गरे आगजनी

चितवनमा रेलमार्ग सर्भे टोलीको गाडीमा स्थानीयले गरे आगजनी

अखबार दैनिक
बुधबार, साउन २ २०८१
  • चितवनमा रेलमार्ग सर्भे टोलीको गाडीमा स्थानीयले गरे आगजनी

    चितवनमा रेलमार्गको सर्भे गर्न गएका टोलीको गाडीमा स्‍थानीयले आगजनी गरेका छन्। बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ मा पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्‍थानीयले नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिएको गाडी उनीहरूले प्रहरीकै अगाडि आगजनी गरेका थिए ।

    images

    गाडीमा लागेको आगो भरतपुर महानगरपालिकाको दमकलले निभाएको छ । उनीहरुले रेलमार्गको गुगल म्याप सर्भे गर्न आएको स्थानीयलाई बताएको रेल मार्ग पीडित संघर्ष समितिका सचिव दिव्य नेपालले बताए । सचिव नेपालका अनुसार सो टोलीले मंगलबार भरतपुर महानगरपालिका ८ मा सर्भे गरेको थियो । आज वडा नं. ७ मा सर्भे गर्दागर्दै २/३ सय जना स्थानीय भेला भएर सो टिमलाई नियन्त्रणमा लिएका हुन् । पूर्वपश्चिम रेलमार्ग भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीय बासिन्दाले चरणबद्ध संघर्षका कार्यक्रम गर्दै आएका छन् ।’ बस्तीलाई उजाड बनाएर रेल मार्ग लैजान नदिने र अहिले गरिएको सर्भे नै परिवर्तन गर्नुपर्ने माग उनीहरुले गर्दै आएका छन् ।

    चितवनमा रेलमार्गको प्रस्तावित रुट भरतपुर महानगरपालिकाको वडा नं ८, ७ र ४ हुँदै नवलपरासीतर्फ जानेछ । यसअघि, भरतपुर महानगरपालिकाको पहलमा महानगरपालिकामा नै संघर्ष समिति र रेल विभाग तथा अन्य सरोकारवाला सरकारी निकायहरुका बीचमा छलफलसमेत गरिएको थियो ।

    त्यसबेला रेलमार्गको अहिले गरिएको सर्भेको रुट परिवर्तन गरेर बस्तीलाई कम क्षति गराउने विकल्पमा जाने सहमति भएको थियो । तर, अहिले फेरि रेलमार्गका नाममा सर्भे थालिएपछि यहाँका स्थानीयहरु सशंकित बनेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार