सोमबार, मंसिर १० गते २०८१

लमजुङस्थित पाउँदीमा १०८ फिट उचाइको शिद्धेश्वर महादेवको मूर्ति निर्माण सम्पन्न

लमजुङस्थित पाउँदीमा १०८ फिट उचाइको शिद्धेश्वर महादेवको मूर्ति निर्माण सम्पन्न

अखबार दैनिक
मंगलबार, साउन १ २०८१
  • लमजुङस्थित पाउँदीमा १०८ फिट उचाइको शिद्धेश्वर महादेवको मूर्ति निर्माण सम्पन्न

    काठमाडौं । लमजुङस्थित सुन्दरबजार नगरपालिका–७ पाउँदीमा १०८ फिट उचाइको शिद्धेश्वर महादेवको मूर्ति निर्माण सम्पन्न भएको छ ।

    images

    कर्मदा नदीका शिवजी महादेव मन्दिर संरक्षण समितिले मर्स्याङ्दी नदी नजिकै पर्यटन र धार्मिक क्षेत्र बनाउनका लागि यतिका अग्लो महादेवको मूर्ति निर्माण गरेको हो ।

    समितिका उपाध्यक्ष चन्द्रप्रसाद पोखरेलले महादेव मूर्तिसहित सो परिसरमा भगवान गणेश, विष्णु, शिवको बहान साँडे (बसाह)को मूर्तिसमेत निर्माण गरिएको बताए । उनले काठमाडौँ र पोखराबाट कालीगढ ल्याएर  निर्माण गरिएको मूर्तिका लागि दुई करोड ५० लाख खर्च भएको जानकारी दिए । मूर्तिमा रङरोगन सम्पन्न भएको छ भने सोही परिसरमा १०८ शिवलिङ्ग र १०८ धारा निर्माण गर्न लागिएको छ । 

    राइनास नगरपालिका–९ मोहोरियाकोटबाट करिब छ किलोमिटर टाढाबाट धाराका लागि पानी ल्याउन लागिएको छ ।  समितिको नाममा रहेको एघार रोपनी जग्गामा उक्त पूर्वाधार निर्माण भइरहेको छ । धारा तथा शिवलिङ्ग व्यक्तिको नाम र पितृहरूको नाम राखिने र यसका लागि न्यूनतम ११ हजार एक सय ११ तिर्नुपर्ने समितिले जनाएको छ । बाँकी काम असोज महिनाभित्र सकिने र आगामी ठूलो एकादशीका दिन उद्घाटन गर्ने तयारी भइरहेको छ ।

    उनका अनुसार त्यस्तै, महादेव मूर्ति स्थापनका लागि हालसम्म १४ लाख बढी चन्दा सङ्कलन भएको छ । पाउँदीमा मर्स्याङ्दी नदीमा स्नायु गर्न, सतबीज छर्न, ठूलो एकादशी पर्वमा लाखौँ भक्तजन विभिन्न स्थानबाट यस क्षेत्रमा आउने गरेका छन् ।

    डुम्रे–बेँसीसहर सडक नजिकै तथा लमजुङरतनहुँको सिमानामा पर्ने यस पाउँदीमा धार्मिक पूर्वाधार निर्माणले पाउँदीका व्यापार व्यवसायमासमेत टेवा पुग्ने स्थानीयको भनाइ छ । यस क्षेत्र राष्ट्रिय गौरवको आयोजना मध्यपमहाडी लोकमार्गको छेउमै रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार