सोमबार, मंसिर १० गते २०८१

असार सकिन लाग्यो, पाइएन रोपाहार

असार सकिन लाग्यो, पाइएन रोपाहार

अखबार दैनिक
मंगलबार, असार २६ २०८१
  • असार सकिन लाग्यो, पाइएन रोपाहार

    असार सकिनै लाग्दा यहाँका किसानलाई रोपाहार खोज्ने पिरलो छ। यहाँ व्यावसायिक रूपमा कृषिकर्म गर्दै आएका किसानले अहिले रोपाहार खोजी गर्दै हिँड्नुपर्ने अवस्था छ। 

    images

    भरतपुर महानगरपालिका-१५ का  चन्द्रप्रसाद अधिकारी गाउँठाउँमा रोपाहार नपाएपछि अन्यत्रबाट ल्याउने तयारीमा छन् उनी। ‘स्थानीय रोपार पाउनै कठिन भएको छ। यहाँ ज्येष्ठ नागरिक मात्रै छन्’, उनले भने, ‘युवा पुस्ता विदेश पलायन हुनु र यहाँ भएका श्रमिक पनि खासै काममा जाँगर नदेखाउँदा समस्या छ।’

    पछिल्ला दिनमा अन्यत्र जिल्लाबाट मजदुर चितवनमा नै कोठा भाडामा लिएर काम गर्न थालेको उनले बताए। सुक्खा ठाउँमा पानीको सन्तुलन मिलाउन नसक्दा प्रविधिको प्रयोग गर्न कठिन हुने गरेको किसानको गुनासो छ। 

    यस्तै समस्यामा छिन् भरतपुर-२४ का रतिमाया गुरुङ। पाँच बिघा क्षेत्रफलमा धान रोप्ने तयारीमा रहेकी उनलाई रोपाहार नपाइने चिन्ताले सताएको छ। अहिले जिल्लाका अधिकांश किसानले अन्यत्र जिल्लाका रोपाहार ल्याउने गरेका छन्।

    भरतपुरकै शिव शर्मा रोपाहारकै खोजीमा छन्। ‘स्थानीय रूपमा काम गर्न सक्ने युवायुवती विदेश पलायन भइसके। अब कसरी खेती गर्ने’, उनले भने, ‘अहिले त वृद्धवृद्धाबाहेक नहुँदा कृषिकर्मसमेत समस्यामा पर्ने हो कि भन्ने चिन्ता लागेको छ।’

    कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले पछिल्ला वर्ष स्थानीय कामदार पाउनै कठिन हुने गरेको बताए। ‘स्थानीय रूपमा कामदार पाए पनि महँगो पर्ने गरेको किसानले गुनासो गर्ने गरेका छन्’, उनले भने।  स्थानीय कामदारले जाँगर चलाएर काम नगर्ने र पूरा समय काम लिन नसकिने गरेको गुनासो आउने गरेको उनले बताए। 

    जिल्लामा हालसम्म ५५ प्रतिशत धान रोपाइँ भएको छ। यहाँ २२ हजार ८७० हेक्टर क्षेत्रफलमा बर्खे धानखेती गरिन्छ। उनका अनुसार पूर्वी क्षेत्रमा असार पहिलो साताबाट धान रोपाइँ शुरु भएको हो। पश्चिम क्षेत्रमा भने केही ढिला रोपाइँ सुरु भएको छ। नारायणी लिफ्टबाट पानी छोडेसँगै सुक्खा क्षेत्रमा समेत रोपाइँ  भएको उनले जानकारी दिए। जिल्लामा सावित्री, गरिमा, सावामन्सुली, रामधान र उन्नत जातका धान लगाउने गरिएको छ।
    रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार