काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालयको गुणस्तर सुधार गर्नको लागि तीन तहकै सरकार र विद्यालय व्यवस्थापन मिलेर काम गर्न जरुरी रहेको बताएकी छन् ।
२०८० को एसईई परीक्षाको नतिजाका विषयमा न्युज एजेन्सी नेपालसँगको कुराकानीमा मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् । उनले विद्यालय शिक्षामा सुधार गरी गुणस्तरिय बनाउँदै उपलब्धी मुलुक नतिजा ल्याउनको लागि स्थानीय तह,अभिभावक र विद्यालय व्यवस्थापनले सबैभन्दा पहिला प्रभावकारी काम गर्न आवश्यक रहेको बताइन् । उनले ५२ प्रतिशत विद्यार्थीहरु ननग्रेडिङ(एनजी) हुनुमा शिक्षा क्षेत्रका कुनैपनि संयन्त्र उम्कने ठाँउ नभएको बताइन् । उनले तत्कालको कारणले मात्रै नभएर विगत लामो समयदेखि शिक्षा क्षेत्रमा देखिएको बेथिति र विद्यालयमा राजनीतिकरणको असर यो वर्षको एसईई नतिजामा देखिएको दाबी गरिन् ।
उनले हामीले विगतका रिजल्टहरुलाई हेर्दा पनि प्रध्यानाध्यापक राम्रो भएको ठाउँमा एसईईको नतिजा राम्रो आएको भन्दै अब सरकारले विद्यालयको प्रध्यानाध्यापकको लागि निश्चित सेवा आयोग बनाउने गरी शिक्षा सेवा आयोगको नियमावली परिवर्तन गर्न लागेको बताइन् । उनले अर्थ मन्त्रालयले शिक्षा मन्त्रालयललाई दरबन्दी नदिएको अवस्थामा १ हजार ९ सय जनाको दरबन्दी मिलान गर्न बाँकी रहेको बताइन् । उनले प्रध्यानाध्यापक दरबन्दीमा आर्थिक भार पर्ने भएकाले तीनै तहका सरकारले समान रुपमा खर्च गर्नेगरी कमजोर नतिजा ल्याएका विद्यालयहरुमा सक्षम प्रध्यानाध्यापक नियुक्ति गर्ने बताइन् । 
    
उनले विद्यालयहरुले परीक्षाको भन्दा पनि सिकाईको नतिजा राम्रो ल्याउने बनाउन आवश्यक रहेको बताइन् । उनले एसईई नितिजाको जिम्मेवारी सबैले लिनुपर्ने बताइन् । 
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    