काठमाडौँ । प्रतिनिधिसभा सदस्य तेजुलाल चौधरीले शिक्षाको सुधार गर्ने हो भने गणित, विज्ञान र अङ्ग्रेजी शिक्षकलाई विशेष व्यवस्था गर्नुपर्ने बताएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै चौधरीले संसद्मार्फत सरकारलाई यस्तो ध्यानाकर्षण गराएका हुन् ।
उनले २०८० सालको एसईई नतिजा सार्वजनिक हुँदा ४८ प्रतिशत एसईई पास भए पनि बढी सङ्ख्या अर्थात ५२ प्रतिशत फेल भएर एनजी आएको बताए । ‘जब एक कक्षामा विद्यार्थी भर्ना हुँदा ११,१२ लाख हुन्छन् र, एसएलसीसम्म पुग्दा ५ लाख मात्र रहन्छन् । यसरी हेर्दा ७ लाख विद्यार्थी बाटैमा हराएको हुन्छ त्यसको कुनै लेखाजोखा हुँदैन’, चौधरीले भने, ‘अहिले ५२ प्रतिशत विद्यार्थीको एनजी आएको अवस्थामा एक लाख ७७ हजार विद्यार्थी गणित विषयमा मात्र फेल भएका छन् ।’
उनले नेपालका धेरैजसो स्कुलले गणित र विज्ञान शिक्षक नै पाउन छोडेको भन्दै शिक्षाको सुधार नै गर्ने हो भने ती विषयका शिक्षकहरूलाई सरकारले विशेष व्यवस्था गर्नुपर्ने बताए ।
‘नेपालका धेरैजसो स्कुलले गणित, विज्ञान र अङ्ग्रेजी शिक्षक नै पाउन छोडेका छन् । साँच्चै शिक्षा सुधार गर्ने हो भने गणित, अङ्ग्रेजी र विज्ञान शिक्षकलाई विशेष व्यवस्था गर्न म जोडदार माग गर्दछु’, उनले भने, ‘बागमती प्रदेशमा ३३ प्रतिशतको एनजी आएको छ भने लुम्बिनीमा ६१, मधेसमा ६०, गण्डकीमा ५०, कोशीमा ५२, कर्णालीमा ५८ र सुदूरपश्चिममा ६८ प्रतिशत विद्यार्थीको एनजी आएको छ ।’
 
                            
 
 
                                     
                                                     
                                             
                                             
                                             
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                     
                                    