काठमाडौं । ‘भ्वाइस अफ नेपाल’को सिजन ४’ का फाइनलिस्ट रिहान गिरीले नेपाली फिल्ममा डेब्यु गर्ने पक्का भएको छ । उनले केही दिनअघि ‘होस्टेल’को तेस्रो श्रृंखला साइन गरेका छन् ।
यसअघि एक फिल्ममा अनुबन्धित भएपनि भिसा प्रक्रियाको कारण उनी पछि उक्त प्रोजेक्टबाट बाहिरिएका थिए । सशान (सन्तोष) कँडेलले निर्देशन गर्ने यो फिल्मका लागि गिरी बेलायतको सांगीतिक टूर छोट्टाएर साउन पहिलो साता काठमाडौं आउँदैछन् ।
भुटानी नागरिक रिहानले ‘भ्वाइस अफ नेपाल’को चौंथो सिजनमा दमदार प्रस्तुति दिएका थिए । हिमालय टिभीको उक्त रियालिटी शोपछि उनको चर्चा नेपाल र भारतमा खुबै चल्यो । उनी रक र सफ्ट-रक जनराको गायनमा चर्चित छन् ।
रिहानलाई फिल्मको प्रमुख पात्रमध्ये एक सशक्त भूमिकामा अनुबन्ध गरिएको निर्देशक सशान कँडेलले बताए । फिल्मको स्क्रिप्टले नै उनलाई मागेको निर्देशक कँडेलको दाबी छ । ‘हामीले लामो समयदेखि ‘मानव’ नामक पात्रको खोजीमा थियौँ । त्यसमा एकदमै ‘फ्रेस’ महसुस हुने कलाकारको आवश्यकता देख्यौँ । रिहान फिल्मको पात्रमा ‘फिट’ हुने देखेपछि अनुबन्ध गरेका हौं,’ उनले भने ।
‘होस्टेल ४’मा रिहानसहित पदम तामाङ र सिम्रन पन्त पनि भित्रिएका छन् । सिम्रन अभिनयमा अनुभवी छिन् । उनले ‘प्रेमगञ्ज’, ‘चित्रा’, ‘अगस्त्य’सहित आधा दर्जन बढी फिल्ममा काम गरिसकेकी छन् । पदम भने सिक्किमका चर्चित कमेडी कलाकार हुन्, जो नेपालमा पनि लोकप्रिय छन् । फिल्ममा मंगोलियन पात्रको जरुरत परेपछि पदमलाई लिइएको निर्देशक कँडेलको जानकारी दिए ।