टी-२० विश्वकप अगाडिको दोस्रो औपचारिक अभ्यास खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र अमेरिकाको खेल राति सवा ९ बजे अमेरिका डालासको ग्रान्ड प्रेरी रंगशालमा हुनेछ। पहिलो औपचारिक अभ्यास खेलमा क्यानडासँग ६३ रनले पराजित भएको नेपाल अमेरिकामाथि जित निकाल्ने लक्ष्यका साथ मैदानमा हुनेछ।
अमेरिका र नेपालबिच भएका पछिल्ला ५ खेलमा नेपालले चार खेल गुमाएको छ। विश्वकप आयोजकसमेत रहेको अमेरिकासँगको खाजको खेललाई महत्त्वका साथ हेरिएको छ।
यसअघि सोमबार राति अमेरिका डालास मैदानमै टस जितेर क्यानडालाई ब्याटिङको निम्तो दिएको नेपालले कमजोर प्रदर्शन गरेको थियो। क्यानडाले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा एक सय २० रन बनाएर अलआउट भएको थियो।
नेपालका लागि कुशल मल्लले ३० बलको सामना गर्दै दुई चौका र दुई छक्काको मद्तमा सर्वाधिक ३७ रन बनाएका थिए भने दुई चौका र एक छक्का प्रहार गरेका अनिल साहले १६ बलमा २४ रन बनाउँदा आसिफ शेखले २२ रन बनाए। कुशल भुर्तेलले १६ बलमा १० रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
नेपालविरुद्ध घातक बलिङ गरेका क्यानडाका लागि डिलन हेलिगरले चार विकेट लिएका थिए। उनको घातक बलिङमा नेपालको ब्याटिङ लाइन कमजोर बनेको थियो।
क्यानडाविरुद्धको खेलमा नेपालका लागि अविनाश बोहराले २ विकेट लिँदा करण केसी, सोमपाल कामी, गुल्सन झा र सागर ढकालले समान एकएक विकेट हात पारेका थिए।