जेठ ११ काठमाडौं । चलचित्र ‘सानो संसार’ को शुभमुर्हत गरिएको छ । शुक्रबार काठमाडौंको कमलादी स्थित गणेश मन्दिरमा शुभसाइत गर्दै चलचित्रको छायांकन सुरु गरिने बताइएको हो ।
चलचित्र जेठको अन्त्यदेखि छायांकन सुरु हुने र काठमाडौं आसपासका क्षेत्रमा खिचिने जानकारी गराइएको छ । सिद्धार्थ पुडासैनीको निर्देशनमा निर्माण हुन लागेको यो चलचित्रमा राज पंगेनी शर्मा, अनु दाहाल, अञ्जना रिसाल र शिशिर सिवाकोटी र सीतादेवी तिमल्सिनाको शीर्ष भूमिका छ ।
अर्जुन कुमार फिल्मस्को प्रस्तुति र राजधानी मिडिया एड प्रालि प्रोडक्सनको सहकार्यमा बन्न लागेको चलचित्रको कथा निर्देशक पुडासैनी र सरिष्मा पुडासैनीले लेखेका हुन् ।
यो चलचित्रलाई चर्चित चलचित्र सिरिज ‘चपली हाइट’, ‘फाटेको जुत्ता’, ‘द युगदेखि युगसम्म’का निर्माता अर्जुन कुमारले निर्माण गर्दैछन् ।
चलचित्रको शुभसाइत समारोहमा कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ पनि शुभकामना दिन उपस्थित थिए । चलचित्र र श्रीमती सीतादेवीलाई शुभकामना दिँदै उनले भने, ‘अब घरपरिवार र कामलाई सन्तुलन मिलाएर अघि बढ्छौं श्रीमानको रुपमा म उनलाई करिअरमा सहयोग गर्नेछु ।’ सीतादेवीले यही चलचित्रबाट अभिनयमा डेब्यू गर्दे छिन् ।