काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रधानमन्त्रीलाई विश्वासको मत लिन अवरोध गरेर नेपाली कांग्रेसले लोकतन्त्रको भद्दा मजाक गरेको आरोप लगाएका छन् । सोमबार संसद् भवन बाहिर गृहमन्त्री लामिछानेले यस्तो आरोप लगाएका हुन् ।
प्रधानमन्त्रीलाई कुनै एक दलले दिएको समर्थन फिर्ता लिएपछि संसदमा विश्वासको मत लिने संवैधानिक व्यवस्था रहेको भन्दै संसदको विधि अनुसार विश्वासको मत लिँदा समेत कांग्रेसले अवरोध गरेको लामिछानेले बताए । उनले सरकार व्यक्ति केन्द्रित नभई विषय केन्द्रित भएर सहकारीका समस्या समाधान गर्नतिर लाग्ने बताए ।
संसदीय समिति गठन गर्ने र सहकारी ठगलाई कारबाही गर्नुपर्ने माग जाहेज भएको तर, व्यक्ति केन्द्रित माग सम्बोधन हुन नसक्ने उनको भनाइ छ । उनले सरकारले सहकारी पीडितहरूको न्यायको लागि द्रूत गतिमा काम गर्ने प्रतिबद्धता जनाए ।
साथै, लामिछानेले प्रमुख प्रतिपक्षले व्यक्ति केन्द्रित भएर समिति बनाउन नाराबाजी गरे पनि सरकार व्यक्ति केन्द्रित नभई संवेदनशिल र विषय केन्द्रित भएर समस्या समाधान गर्नतिर लाग्ने जानकारी दिए ।