३ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभालाई विघटनको स्थितिमा पुर्याउन खोजेको आरोप लगाएका छन् ।
बिहीबार पार्टी निकट वुद्धिजीविहरुको संगठन प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा उनले ओलीले सरकार गठनको प्रक्रिया धारा ७६ (३), धारा ७६ (५) हुँदै प्रतिनिधिसभा विघटनसम्म पुर्याउन खोजेको बताएका हुन् ।
‘एमाले ७६(३) धारा उपधारामा जान खोजिरहेको छ, प्रचण्डजीलाई थाहा छ कि छैन म भन्न सक्दिन ७६ ३ मा गइसकेपछि (ओली) कसैलाई स्वीकार्ने पक्षमा हुनुहुन्न’ उनले भने ।
संविधानको धारा ७६ (३) मा प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेता प्रधानमन्त्री हुन सक्ने व्यवस्था छ । तर उनले विश्वासको मत लिन नसकेमा धारा ७६ (५) अनुसार सरकार गठन हुन्छ, जसमा प्रतिनिधिसभामा विश्वासको मत लिन सक्ने कुनै संसद सदस्य प्रधानमन्त्री हुने व्यवस्था छ ।
‘धारा ७६ (३) पछि ५ मा जान्छ, उहाँले संसद विघटन गरिकन दुई अढाइ वर्ष पहिले संसद विघटन गरेको पुष्टि गर्न उहाँ उद्धत हुनुहुन्छ, यसमा कुनै शंका गरिरहनुपर्दैन’, कोइरालाले भने ।
अब कांग्रेसले यसलाई रोक्न लाग्नुपर्ने उनले बताए । नेता कोइरालाले संघीय सरकार र प्रदेश सरकारको धेरै कमजोर भएका कारण न्यायिक सक्रियता बढेको बताएका छन् । अति न्यायिक सक्रियता संविधानका लागि पनि घातक हुने उनले बताए ।
‘प्रदेश र संघका सरकार यति कमजोर भएछौं, त्यसले जुडिसियल एक्टिभिजम यति धेरै बढेको छ, त्यसको हिसाब किताब छैन’, उनले भने, ‘जुडिसियल एक्टिभिजमले संविधानलाई केयर गर्दैन, त्यतातिर पनि ध्यान दिएर अगाडि जानुपर्छ ।’