सोमबार, मंसिर १० गते २०८१

पोखरीमा पानी संकलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान

पोखरीमा पानी संकलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान

मंगलबार, जेठ १ २०८१
  • पोखरीमा पानी संकलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान

    १ जेठ, टीकापुर (कैलाली) । कैलालीको चुरे गाउँपालिका–५ लिसबेली गाउँका किसान नजिकको मुहानबाट ल्याएको पानी पोखरीमा संकलन गरेर खतीपातीमा जुटेका छन् । हिउँदेबालीका लागि उनीहरूले निजी तथा सामुदायिक पोखरीबाट खेतबारी सिँचाइ गर्दै आएका छन् ।

    images

    लिसबेली गाउँका सबै किसान अन्नबालीभन्दा सागसब्जीको अधिक खेती गर्छन् । गोलभेँडा, खुर्सानी, बन्दाकोभी, काउली, आलु, प्याज, लसुन, धनियाँलगायत तरकारी बाली लगाउने गर्छन् । यहाँका १२ किसान परिवारले सामूहिक र व्यक्तिगत रूपमा बनाइएका पोखरीमा संकलन भएको पानीबाटै प्रशस्त आम्दानी गर्दै आएका किसान खेमराज सापकोटाले बताए । उनीहरूले बारीमा पानी लगाउने समयसारिणी पनि बनाएका छन् ।

    ‘खेतीका लागि पानीको समस्या भएकाले पोखरीमा मुहानको पानी संकलन गरिरहेका छौँ, पोखरीको पानीको किफायती प्रयोगमा हामी सबैको जोड छ,’ उनले भने । यहाँका किसान वर्षातको २ महिनाबाहेक अन्य समयमा तरकारीखेती गर्छन् ।

    खेतीका लागि उनीहरूले सामूहिक वा व्यक्तिगत पोखरीमा जम्मा भएको पानी प्रयोग गर्ने गरेका अर्का किसान धर्मराज भट्टले बताए । किसानले थोपा सिँचाइ प्रविधि प्रयोग गरेका छन् । किसानले वर्षाको पानी संकलन गर्न प्रत्येक घरमा ‘स्वायल सिमेन्ट’ पोखरी बनाउने योजना रहेको उनले जानकारी दिए ।
    रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार