आइतबार, जेठ ६ गते २०८१

बालबालिकालाई तेजिलो बनाउन तेक्वान्दो

बालबालिकालाई तेजिलो बनाउन तेक्वान्दो

अखबार दैनिक
मंगलबार, वैशाख २५ २०८१
  • बालबालिकालाई तेजिलो बनाउन तेक्वान्दो

    रातको अँध्यारोले बिहानीको उज्यालो नहुँदै झिसमिसेमा होस् वा बेलुका डुब्दै गरेको पहेँलो घामले साँझसँगै गोधुलीलाई नदेख्दै सिन्धुलीको लोकतान्त्रिक चौरमा बालबालिकाहरू उफ्रिरहेका हुन्छन् । दैनिक बिहान बेलुकाको समयमा उत्साहका साथ उनीहरू तेक्वान्दो खेल सिकिरहेका भेटिन्छन् ।

    images

    खेलले बालबालिकाको सर्वाङ्गीण विकासमा सहयोग गर्ने भएकाले शिक्षित अभिभावकले आफ्ना बालबालिकालाई सानै उमेरदेखि तेक्वान्दो खेलको अभ्यास गर्न पठाउने गरेका छन् ।

    जिल्लाभित्रैका कतिपय ठाउँका बालबालिकाले प्रशिक्षकको अभावमा शुल्क तिरेर पनि तेक्वान्दो खेलको अभ्यास गर्न पाएका छैनन् । खेलमा विशेष रुचि भए पनि विभिन्न समस्याका कारण खेल अभ्यास गर्न पाउने अवसरबाट वञ्चित छन् ।

    तर सिन्धुलीको सदमुकाम सिन्धुलीमाडी क्षेत्रका बालबालिकाले दैनिक निःशुल्क तेक्वान्दो खेलको अभ्यास गर्न सक्छन् । यो अवसर यहाँका बालबालिकाले ३३ वर्षदेखि पाइरहेका छन् ।

    कमलामाई नगरपालिका–४ धुराफाँटकी तुलसा श्रेष्ठ यो अभ्यासमा दुई वर्षअघिदेखि नियमित सामेल छिन् । बिहान सबेरै घरमा मनतातो पानी पिएर तेक्वान्दो खेल अभ्यासमा निस्किन्छिन् । जनज्योति माध्यमिक विद्यालय, फोस्रेटारमा माध्यमिक तहको शिक्षा प्राप्त गरिरहेकि उनी बेलुका विद्यालयबाट पढेर घर फर्केपछि सोही कार्य दोहोर्‍याउँछिन् ।

    चौरमा पुगेर उनी जस्तै साथीहरूसँग दौडिन्छन् । टाउको, आँखा, मुख, घाँटी, औँला, नाडी, कुम, कम्मर, हिप, गोडा र पैतलाको व्यायाम गर्छन् । खेलमा साइज स्ट्रेच, किक एक्सरसाइज लगायत खेलाडीको स्तरअनुसार सत्रुको कल्पनामा गरिने आत्मरक्षाको स्टेपहरु हुन्छन् । उनले यो अभ्यासका लागि बिहानको दुई घण्टा र बेलुकाको दुई घण्टा छुट्याएकी छन् ।

    तेक्वान्दो खेलमा हाफ ब्ल्याक बेल्ड प्राप्त गरिसकेकी श्रेष्ठ खेल अभ्यासले आफ्नो क्षमता विकासमा सहयोग गरेको बताउँछिन् । उनी भन्छिन्, ‘खेल अभ्यासले खेलाडी मात्रै बनाउँदैन, असल खानपानको अभ्यास गराउँछ । समग्रमा असल नेतृत्व क्षमता भएको व्यक्तित्व निर्माण र अनुशासित बनाउन मद्दत गर्दछ । सानातिना आक्रमणलाई प्रतिकार गरेर अगाडि बढ्ने सामर्थ प्रदान गर्दछ ।

    खेल अभ्यास गर्ने बालबालिका पढाइबाट बचेको समयमा चौरमै भेला हुन्छन् । राम्रो जीवनशैलीका लागि असल व्यवहारका बारेमा प्रशिक्षकको प्रवचन सुन्ने, खेलको अभ्यास गर्ने र अन्य रचनात्मक र सृजनशील काममा केन्द्रित हुन्छन् । यसले खराब आनीबानी भएका साथी र गलत सङ्गतबाट बालबालिकालाई जोगाउन  सहयोग पुगेको अभिभावकहरूको भनाइ छ ।

    कनपा–७ माझीटारकी आकृति माझिकाअनुसार तेक्वान्दोका प्रशिक्षक (कोच) डम्बर आलेले तेक्वान्दो खेलसँगै असल खानपान, असल जीवनशैली, असल व्यवहार, व्यायाम, आचरण र असल सङ्गतका बारेमा पनि सिकाउँछन् । उनी भन्छन्, ‘अस्वस्थकर खानपान र जीवनशैलीले हामीलाई विभिन्न रोगले च्याप्छ । बिहान सबेरै उठ्ने, नियमित व्यायाम गर्ने, स्वास्थ्यकर र सन्तुलित खानेकुराहरू मात्रै खाने र हानिकारक तत्त्वहरूबाट बच्नु पर्छ ।’

    तेक्वान्दोलाई विशुद्ध खेल मात्र नभए स्वस्थ, तन्दुरुस्त, निरोगी र फुर्तिलो रहने उत्तम व्यायामका रूपमा लिन्छन्, कमलामाई नगरपालिका–७ सिन्धुलीका स्थानीवासी तथा तेक्वान्दो खेलका प्रशिक्षक (कोच) डम्बर आले ।

    विसं २०४८ देखि सिन्धुलीमा निरन्तर निःशुल्क तेक्वादो खेल सिकाउँदै आएका छन् उनी । खेलले स्वास्थ्य स्वस्थ, निरोगी बनाइराख्न र बालबालिकालाई आँटिलो र तेजिलो बनाउने उनी बताउँछन् । उनी भन्छन्, ‘कसैले कुनै पनि प्रकारको हिंसा गरेमा प्रतिकार गर्न सक्ने क्षमताको विकास गर्दछ । खेलले शारीरिक, मानसिक स्वास्थ्य स्वस्थ राख्न मद्दत गर्दछ । लागूऔषध दुर्व्यसनी र मोबाइल, इन्टरनेटको लतबाट बचाउनसमेत खेलले सहयोग गर्दछ ।’

    ध्यान, आत्मरक्षा, आत्मविश्वास, आत्मसम्मान, अनुशासन तथा व्यक्तित्व विकासका लागि बालबालिकालाई तेक्वान्दो खेल अभ्यास गराउन उनी सम्पूर्ण अभिभावकलाई सुझाव दिन्छन् । प्रशिक्षक आलेका अनुसार तेक्वान्दो अभ्यास गरेका बालबालिकालाई खेलको अलावा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, वन रक्षक जस्तो क्षेत्रमा प्रवेश गर्न सजिलो भएको छ ।

    राष्ट्रिय खेलकुद परिषद्ले प्रत्येक विद्यालयमा एक जना खेलकुदका लागि शिक्षक राख्ने नीति लिएको भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको उनको गुनासो छ । कमलामाई नगरपालिकाभित्र रहेका पाँच वटा बोडिङ स्कुलले भने कार्यान्वयनको सुरुआत गरेका छन् । ‘तीनै तहका सरकारले खेल क्षेत्रलाई थप व्यवस्थित र विकाससँगै विस्तार गर्न जरुरी छ’, प्रशिक्षक आले भन्छन्, ‘तेक्वान्दो खेलको विकास र विस्तारले देशमा स्वस्थ नागरिक उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्दछ ।’

    उनले हाल २० वर्षमुनिका ५० जनाभन्दा बढी बालबालिकालाई दिनहुँ निःशुल्क तेक्वान्दो सिकाइरहेका छन् । अभिभावक अनिता तामाङ तेक्वान्दो खेल तालिममा जान थालेपछि आफ्नो छोरीमा धेरै परिवर्तन आएको बताउँछिन् । उन भन्छिन्, ‘खेलले बालबालिकालाई हरेक क्षेत्रमा सबल र सक्षम बनाउन सहयोग गरेको छ । असल खानपान, असल व्यवहार र अनुशासित बन्न पनि प्रेरित रहेको छ । ‘

    निःशुल्क तेक्वान्दो सिक्ने अवसरको बढी लाभ बालिका तथा किशोरीहरूले लिन पाएका छन् । पहिला तेक्वान्दो खेलको अभ्यास गर्ने बालक र किशोर मात्रै हुने गर्दथे । खेलबाट आफ्नो आत्मरक्षा आफैँले गर्न सक्ने क्षमताको विकास हुने बुझाई जनमानसमा विस्तार हुँदै गएकाले पछिल्लो समय तेक्वान्दो अभ्यासमा बालिका र किशोरीको उल्लेखनीय सहभागिता देखिन थालेको छ ।

    बालबालिका मात्रै होइन, मोटोपनाबाट ग्रसितहरूले पनि तेक्वान्दोको सहारा लिएर शरीरलाई सन्तुलनमा राख्न थालेका छन् । सिन्धुलीगढी तेक्वान्दो दोजाङ र जिल्ला तेक्वान्दो सङ्घका अनुसार हाल जिल्लाभर चार सय तेक्वान्दोका खेलाडी छन् ।
     – रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार