आइतबार, जेठ ६ गते २०८१

अनुदान पाएपछि व्यावसायिक बाख्रा पालनमा चितवनका चेपाङ समुदाय

अनुदान पाएपछि व्यावसायिक बाख्रा पालनमा चितवनका चेपाङ समुदाय

अखबार दैनिक
मंगलबार, वैशाख २५ २०८१
  • अनुदान पाएपछि व्यावसायिक बाख्रा पालनमा चितवनका चेपाङ समुदाय

    २५ वैशाख, चितवन । जिल्लाको इच्छाकामना गाउँपालिका–१ तार्सिलिङकी स्मृति चेपाङ व्यावसायिक रूपमा बाख्रापालन गर्ने योजनामा छिन् । गाउँपालिकाले खोर सुधारका लागि सहयोग गरेपछि बाख्रा थप्ने सोचमा रहेको उनी बताउँछिन् ।

    images

    उनको खोरमा अहिले १५ वटा बाख्रा छन् । यस वर्ष ६ वटा खसीबोका बिक्री गरेर ६० हजार रुपैयाँ आम्दानी गरेको बताइन् । ‘छानो बनाउन नसकेर खोर निर्माण अधुरै थियो, गाउँपालिकाले २५ हजार रुपैयाँ सहयोग गरेपछि केही रकम आफैँ जोहो गरेर खोर सम्पन्न भएको छ’, स्मृति भन्छिन् ।

    वडा नं १ तार्सिलिङकै अञ्जु चेपाङ गाउँपालिकाको आर्थिक सहयोगमा बाख्रा खोर निर्माण गरेपछि व्यावसायिक बाख्रापालन गर्ने सोचमा रहेको बताइन् । उनले भनिन्, ‘गाउँपालिकाको सहयोगले खोर सुधार भएको छ, बाख्राको सङ्ख्या बढाएर अब व्यावसायिक रूपमै बाख्रा पाल्छु ।’

    गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले किसानलाई समृद्ध बनाई आयआर्जन बढाउन कृषि र पशुपालनमा जोड दिएको बताए । इच्छाकामनामा प्रशस्त घाँसे जंगल भएकाले समस्या नहुने हुँदा बाख्रापालनबाट मनग्य आम्दानी गर्न सकिने उनको भनाइ छ ।

    बाख्राको मलबाट कृषि बालीसमेत फस्टाउने भएकाले दोहोरो फाइदा पुग्ने गाउँपालिका अध्यक्ष गुरुङ बताउँछन् । अहिले गाउँपालिकाभर ६० हजार बाख्रा पालन भएको र यसलाई क्रमशः बढाएर एक लाख ५० हजार पुर्‍याउने लक्ष्य रहेको उनले जानकारी दिए ।

    गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले गाउँपालिकाले खोर सुधारसँगै उन्नत जातको बोका वितरण, खोरमै पुगेर पिपिआर खोप लगाउने, बाख्राले रुचाउने उन्नत जातको घाँसको बेर्ना वितरण, बाख्रामा लाग्ने रोग र उपचारबारे सचेतना कार्यक्रम सञ्चालन गरिरहेको बताए । गाउँपालिकको अनुदान कार्यक्रमसँगै किसानमा बाख्रा पाल्ने उत्साह बढेको उनले सुनाए ।

    गाउँपालिका पशु शाखा प्रमुख डा सुनिल ज्ञवालीका अनुसार यस आर्थिक वर्षमा गाउँपालिकाका ७ वटै वडामा गरी ७९ वटा खोर निर्माण गरिएको छ । यही आर्थिक वर्षमा थप १० वटा खोर निर्माण हुने उनले जानकारी दिए । गत आर्थिक वर्षमा २ सय ८७ वटा खोर निर्माण भएका थिए । बाख्रापालक किसान र गाउँपालिकाको ५०–५० प्रतिशत लागतमा खोर सुधार कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।
    रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार