काठमाडौँ । आज एकै पटक चारवटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार बिहान ११ बजे सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ ।
बैठकमा विपद् व्यवस्थापन (विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) सम्बन्धमा गृह मन्त्रालयबाट भएका काम कारबाही, विपद् जोखिम न्यूनीकरणको लागि तयारी तथा भावी कार्ययोजना, विपद् व्यवस्थापन (विपद् जोखिम न्यूनीकरण, विपद् प्रतिकार्य र विपद् पुनर्लाभ) सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट भएका काम कारबाही, विपद् जोखिम न्यूनीकरणको लागि तयारी तथा भावी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा आगामी बजेट २०८१-०८२ का सम्बन्धमा पूर्व बजेट छलफल हुनेछ । त्यस्तै दिउँसो २ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा समितिबाट हुने अनुगमनका सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपालमा ज्येष्ठ नागरिक सम्बन्धी विद्यमान कानुन, उनीहरूका लागि राज्यका तर्फबाट भएका व्यवस्था, बुढ्यौली जनसङ्ख्या तथा वृद्धाश्रम ज्येष्ठ नागरिक मिलन केन्द्रको वर्तमान अवस्था सम्बन्धमा छलफल हुनेछ ।