मंगलबार, जेठ ८ गते २०८१

इलाममा पराजित रास्वपाका मिलनले साग पसल खोल्ने

इलाममा पराजित रास्वपाका मिलनले साग पसल खोल्ने

अखबार दैनिक
बुधबार, वैशाख १९ २०८१
  • इलाममा पराजित रास्वपाका मिलनले साग पसल खोल्ने

    काठमाडौं । इलाम–२ मा भएको उपनिर्वाचनमा पराजित भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले साग पसल खोल्ने घोषणा गरेका छन् ।

    images

    उनले आज सामाजिक सञ्जालमार्फत जनताको सेवा गर्न सांसदै बन्नु नपर्ने भन्दै साग बेचेरै भए पनि जनताको सेवा गर्न सकिने बताएका हुन् ।

    लिम्बूले इलाम कृषिजन्य उत्पादनको दृष्टिले प्रचुर सम्भावना भएको जिल्ला उल्लेख गर्दै इलामेली युवा मिलेर छिट्टै कृषिजन्य उत्पादनको बजारीकरणका लागि काम गर्ने बताएका छन् ।

    उनले किसानबाट संकलन गर्न सकिने कृषिजन्य उत्पादनको सूची तयार भइसकेको र सम्भावित बजारको समेत अध्ययन गरिरहेको बताए ।

    उनले भने, ‘हामी छिट्टै नै उत्पादन, सङ्कलन र बजारीकरणको अवस्थामा पुग्ने छौँ । छिट्टै नै हाम्रो साग पसल देख्न पाउनुहुने छ ।’

    उनले भनेका छन्, ‘हाम्रो क्षमताले भ्याएसम्म कृषकको उत्पादनलाई बजारसम्म पुर्‍याउँदा कृषकको जीवनस्तर उकास्न सहयोग पुग्ने छ । त्यसपछि, सोही व्यवसायबाट हामी युवा पनि आत्मनिर्भर हुनेछौँ ।’

    उनले राजनीतिलाई पेसा बनाउन नहुने भन्दै आफ्ना लागि राजनीति सेवा र जीवन धान्न कृषिजन्य उत्पादन र बजारीकरण पेसा हुने उल्लेख गरेका छन् ।

    इलाम–२ मा गत शनिबार भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलनले ५ हजार ५० मत ल्याएका थिए । जहाँ उनको जमानत समेत जफत भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ