शनिबार, वैशाख २९ गते २०८१

तस्वीर खिच्ने पर्यटकले दिक्क पारेपछि जापानको माउन्ट फुजीलाई पर्दाले छेकिंदै

तस्वीर खिच्ने पर्यटकले दिक्क पारेपछि जापानको माउन्ट फुजीलाई पर्दाले छेकिंदै

अखबार दैनिक
आइतबार, वैशाख १६ २०८१
  • तस्वीर खिच्ने पर्यटकले दिक्क पारेपछि जापानको माउन्ट फुजीलाई पर्दाले छेकिंदै

    एजेन्सी। नेपालमा बढीभन्दा बढी पर्यटकहरु भित्र्याउनका लागि सरकार र जनस्तरमा विभिन्न प्रयासहरु भैरहेका छन् । पर्यटकहरुलाई हिमालका साथै अन्य सुन्दर प्राकृतिक दृश्यहरुको तस्वीर लिन सजिलो होस् भनेर विभिन्न भ्यू प्वाइन्ट, भ्यू टावर तथा फोटो स्पटहरु बनाइन्छन् । तर, जापानमा भने पर्यटकहरुले बढी फोटो खिचेपछि हिमालको दृश्य नै छोप्नुपर्ने स्थिति आइलागेको छ ।

    images

    विश्वमा सबैभन्दा धेरै तस्वीर खिचिएको पहाड हो, जापानको माउन्ट फुजी । हिउँले ढाकिएको माउन्ट फुजीको आकर्षक तस्वीर खिच्ने सबैभन्दा आइकनिक फोटो स्पट छ, फुजीकावागुचीको भन्ने ठाउँ ।

    एउटा किराना पसलको छानोमै टुपुक्क फुजी हिमाल राखिएको जस्तो दृश्य देखिने फुजीकावागुचीकोमा निकै धेरै विदेशी पर्यटकहरु झुम्मिने, उनीहरुले यत्रतत्र फोहोर फ्याँक्ने र ट्राफिक नियम उल्लंघन गरेर गाडीहरु पनि जतासुकै पार्किंग गर्न थालेपछि स्थानीय बासिन्दाहरु आजित बने ।

    उनीहरुको गुनासोपछि स्थानीय प्रशासनले उक्त किराना पसलको छानोमा बडेमाको कालो जाली राखेर फुजी हिमाललाई छेकिदिने भएको छ ।

    इामानाशी सहरस्थित उक्त ठाउँमा पुग्ने पर्यटकहरु फुजी हिमालको दृश्यबाट यतिधेरै मुग्ध हुन्छन् कि कतिपय त अझै राम्रो दृश्य कैद गर्न भन्दै किराना पसलको छानोमा चढ्दछन् ।

    फुजी हिमालको दृश्यलाई छेक्नका लागि साडे २ मिटर चौडा र २० मिटर अग्लो जाली टाँग्ने कार्य यहीँ हप्ताबाट सुरु गरिने अधिकारीहरुले बताएका छन् ।

    अधिकारी भन्छन् – हामीलाई यस्तो कार्य गर्नुपर्दा दुःख लागेको छ । कतिपय पर्यटकहरुले नियम कानुनको सम्मान नगरेका कारण यस्तो गर्नु परेको हो ।

    हिमाल छेक्ने जालिदार पर्दा राख्नु अगाडि त्यहाँ विभिन्न सूचना तथा चेतावनीमूलक सन्देशहरु राख्नुका साथै सुरक्षाकर्मीहरुको परिचालन गरेर समेत पर्यटकहरुलाई सम्झाउने प्रयास गरिएको थियो । तर, पर्यटकहरुले टेरपुच्छर लगाएनन् ।

    स्मरण रहोस् कोभिड-१९ महामारी सकिएसँगै जापानमा पर्यटकको संख्यामा उच्च वृद्धि भैरहेको छ । गत मार्च महिनामा ३० लाख विदेशी पर्यटक जापान पुगेका थिए । तर, बढ्दो पर्यटकको संख्याले विभिन्न समस्याहरु पनि निम्त्याएको छ ।

    फुजी हिमाल चढ्ने मानिसहरुको पनि ठूलो भीड लागेसँगै यो गृष्मयामबाट फुजी हिमाल चढ्नका लागि १३ डलर शुल्क तिर्नुपर्ने नियम बनाइएको छ ।

    -बीबीसीबाट

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ