शनिबार, वैशाख २२ गते २०८१

गण्डकी प्रदेशले पोखराका ट्याक्सीलाई मिटरमा चलाउन निर्देशन

गण्डकी प्रदेशले पोखराका ट्याक्सीलाई मिटरमा चलाउन निर्देशन

अखबार दैनिक
बिहीबार , वैशाख १३ २०८१
  • गण्डकी प्रदेशले पोखराका ट्याक्सीलाई मिटरमा चलाउन निर्देशन

    पोखरा । गण्डकी प्रदेश सरकारले पटक– पटक पोखराका ट्याक्सीलाई मिटरमा चलाउन निर्देशन दियो । मिटरमा यात्रा गर्न पाउने अधिकार यात्रुको छ । तर ट्याक्सीवालाहरू घाटा हुने भन्दै मिटर चलाउन मान्दैनन् । 

    images

    मिटरमा चल्न नखोज्न ट्याक्सीलाई ट्राफिक प्रहरीले निरन्तर कारबाही भने गरिरहेको छ । भदौ महिनादेखि अहिलेसम्म ५ सय भन्दा बढी ट्याक्सी कारबाहीमा परिसकेका छन् ।

    दैनिक दर्जनभन्दा बढी ट्याक्सी कारबाहीमा पर्ने गरेका ट्राफिक प्रहरी प्रमुख भानु शर्माले बताए । ‘ट्याक्सीलाई मिटरमा चल्नुपर्छ भनेर हामीले सचेत पनि गराएका छौँ । कारबाही पनि गरेका छौँ । तैपनि मिटरमा चल्न मान्दै मान्दैनन्,’ उनले भने, ‘हामी प्रयासरत छौँ ।’

    तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री रेशमबहादुर जुग्जालीले व्यवसायीसँग मिटरमा चलाउने सहमतिमा हस्ताक्षर गराएका थिए । त्यस समयमा केही दिन मिटरमा चलेको पनि थियो । पछिल्लो ८ महिनामा  ट्राफिक कार्यालयले ५ सय ४ ट्याक्सीलाई मिटरमा जान नमानेको कसुरमा कारबाही गरेको छ ।

    उनीहरूबाट १४ लाख २८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको शर्माले बताए । आइतबार एकैदिन १३ ट्याक्सी जिल्ला ट्राफिक प्रहरी कार्यालयको नियन्त्रणमा परेका छन् ।

    यात्रुले गुनासो गरेपछि मिटर कारबाही हुने गरेको उनको भनाई छ । प्रहरीले नियन्त्रणमा लिएका ट्याक्सीको थप कारबाही भने यातायात व्यवस्था कार्यालयले गर्छ ।

    मिटर नभएको वा ट्याक्सी मिटरमा जान नमानेको कसुरमा यातायात कार्यालयले २ हजार ५ सयदेखि ५ हजार रुपैयाँसम्म जरिवाना लिने गरेको प्रहरीले जनाएको छ ।

    कतिपयले ट्याक्सी चढ्नुअघि मिटरको वास्ता पनि नगरेको शर्मा सुनाउँछन् । ‘मिटर चेक गरेर यात्रा गर्ने यात्रु पनि कम छन् । चढ्ने बेलामा नै मिटर छ कि छैन, म मिटरमा जान्छु भन्नुपर्छ,’ उनले भने, ‘मिटरमा जान नमाने १०३ मा फोन आउँछ । अनि प्रहरीले नियन्त्रणमा लिन्छ ।’ 

    पोखरा क्षेत्रमा हाल करिब २५ सय हाराहारीमा ट्याक्सी चल्छन् । सरकारले दुई जिल्ला चल्ने ट्याक्सीलाई पनि सहजै वार्षिक परमिट दिन थालेको छ । अन्यत्रबाट पनि ट्याक्सीहरू पोखरा आउन थालेका छन् । यात्रुको सचेतनाको अभावले पनि मिटर ट्याक्सी लागू गर्न कठिनाइ भएको प्रहरीको अनुभव छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार