आइतबार, वैशाख २३ गते २०८१

चीनमा हुवावेईको विक्री आकासियो

चीनमा हुवावेईको विक्री आकासियो

अखबार दैनिक
बुधबार, वैशाख १२ २०८१
  • चीनमा हुवावेईको विक्री आकासियो

    बेइजिङ । घरेलु बजारमा चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेईको विक्री धमाधम बढिरहेको छ । त्यहाँ अमेरिकी आइफोन निर्माता कम्पनी एप्पललाई उछिनेर कम्पनी तेस्रो ठुलो स्मार्टफोन निर्माता बन्ने क्रममा छ । 
    हालैका वर्षमा विश्व बजारमा हुवावेई अमेरिका र चीनबीच बढ्दो तनावको चपेटामा आएको थियो । तर गएको वर्षको सोही अवधिको तुलनामा यस वर्षको पहिलो त्रैमासमा घरेलु बजारमा कम्पनीको विक्री ७० प्रतिशतले बढेको बजार अनुसन्धाता संस्था काउन्टर रिसर्चले बताएको छ । सोही अवधिमा एप्पलको विक्री १९ प्रतिशत भन्दा धेरैले घटेको छ । 

    images

    हुवावेईको पुनरागमनले प्रिमियम सेग्मेन्टमा एप्पलको विक्रीमा नकारात्मक प्रभाव परेको काउन्टरप्वाइन्टमा वरिष्ठ अनुसन्धान विश्लेषक इभान ल्याम भन्छन् । गएको वर्ष हुवावेईले मेट ६० प्रो स्मार्टफोन लञ्च गरेको थियो । अमेरिकाले विदेशी बजारमा चिप प्रविधिमा चीनको पहुँचमा निषेध गर्न अनेकौँ प्रयास गरिरहँदा कम्पनीले फोनका लागि चाहिने चिप कसरी जुटाउन सक्ला भन्ने प्रश्न तेर्सिएको थियो ।

    सन् २०२३ को पहिलो त्रैमासमा चिनियाँ बजारको करिब २० प्रतिशत हिस्सा एप्पलको पोल्टामा थियो । तर गएको त्रैमासमा यसको बजार हिस्सा १५ दशमलव ७ प्रतिशतमा झरेको छ । योसँगै विक्रीका आधारमा एप्पल चीनमा तेस्रो ठुलो स्मार्टफोन कम्पनी बनेको छ । हुवावेईको बजार हिस्सा गएको वर्षको सोही अवधिको ९ दशमलव ३ प्रतिशतबाट बढेर १५ दशमलव ५ प्रतिशतमा उक्लिएको छ । पहिलो त्रैमासमा एप्पलको विश्व बजारमा विक्री १० प्रतिशतले घटेको अर्को बजार अनुसन्धाता संस्था आईडीसीले बताएको केही दिनमै काउन्टरप्वाइन्टको डेटा आएको हो ।

    एप्पलका लागि चीन अमेरिकापछिको सबैभन्दा ठुलो बजार हो । तर चीनमा कम्पनीले यतिबेला चुनौतीपूर्ण समय भोगिरहेको छ । कुनै बेला एप्पलका उत्पादन भनेर मरिहत्ते गर्ने चिनियाँ ग्राहकहरू अहिले घरेलु ब्रान्डतिर लागेका छन् । समग्रमा पहिलो त्रैमासमा चीनमा स्मार्टफोन विक्री भने १ दशमलव ५ प्रतिशतले बढेको काउन्टरप्वाइन्टको तथ्याङ्कले देखाएको छ । बजार हिस्साका आधारमा भिभो र अनर सबैभन्दा ठुला स्मार्टफोन ब्रान्ड हुन् ।  

    प्रतिक्रिया दिनुहोस

    थप समाचार