सोमबार, वैशाख २४ गते २०८१

गाउँपालिकाबाट तालिम लिएर महिलाहरू बने उद्यमी

गाउँपालिकाबाट तालिम लिएर महिलाहरू बने उद्यमी

अखबार दैनिक
बिहीबार , चैत २९ २०८०
  • गाउँपालिकाबाट तालिम लिएर महिलाहरू बने उद्यमी

    जिल्लाको तमानखोला गाउँपालिकाले महिलालाई उद्यमसँग जोडेर आत्मनिर्भर बनाउने प्रयास थालेको छ। गाउँपालिकाले ६ वटै वडाका महिलालाई सीप सिकाएर उद्यमसँग जोडेको हो।

    images

    गाउँका महिलाले सीप सिकेर लघुउद्यम सञ्चालन थालेका छन्। दुई वर्ष अगाडिसम्म घरधन्दामा सीमित उनीहरू अहिले कपडा उत्पादन, सिलाइ, साबुन उत्पादन, सिस्नोबाट पाउडर बनाउने, डालो र डोको बुन्नेलगायत काममा व्यस्त भएका छन्।

    गाउँपालिकाको वडा नम्बर ३ तमान गाउँका महिलाले झोला, सल, सुइटर, टोपी बनाएका छन्। महिला कल्याण आमा समूहमा आबद्ध भएर उनीहरू उद्यममा लागेका हुन्। गाउँपालिकाले दिएको तालिमले आफूहरुको दैनिकी बदलिएको स्थानीय जुनुमाया घर्ती मगरले बताए।

    ‘एक्लैभन्दा समूहमा काम गर्दा फाइदा हुन्छ, अहिले गाउँका दिदीबहिनी मिलेर उद्यम गरेका छौं, हाम्रो आर्थिक अवस्थामा सुधार आएको छ,  सेवाग्राहीको मागअनुसार उत्पादन पनि बढाएका छौं,’ उनले भनिन्।

    वडा नम्बर २ को लघुउद्यमी महिला समूहले झोला उत्पादन गर्दै आएको छ। वडा नम्बर ५ को खुङ्खानीका महिला समूहले सिस्नोको पाउडर, बोङगाखानी लघुउद्यम आमा समूहले भेडाको ऊनबाट काम्लो उत्पादन गरी बजारीकरण गर्दै आएको छ।

    वडा नम्बर १ को सिर्जनशील लघुउद्यमी समूहले साबुन सरफलगायत सामग्री उत्पादन गर्दै आएको छ।  स्थानीय स्रोत साधानको प्रयोगबाट आफूहरू उद्यममा लागेको माया विकले बताइन्। विगतमा घाँस–दाउरा र पशुपालनमा व्यस्त उनी अहिले साबुन उत्पादनमा लागेकी छन्।

    महिलाले उत्पादन गरेका सामग्री प्रबर्द्धनका लागि गाउँपालिकाले सहयोग गर्दै आएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताए।

    गाउँपालिकाले वडा नम्बर ३ मा महिला उद्यमीका लागि भवन निर्माण गरिसकेको ‍र उनीहरुले उत्पादन गरेको खादा, दोसल्लालगायत सामग्री गाउँपालिकाले आयोजना गर्ने विभिन्न कार्यक्रममा प्रयोग हुने गरेको उनले बताए। उत्पादित सामग्री  बजारसम्म पुर्‍याउन ढुवानीको व्यवस्था पनि गरिएको अध्यक्ष बुढामगरले जानकारी दिए।

    ‘दिदीबहिनीलाई आत्मनिर्भर बनाउन  सीप सिकाउनेदेखि उद्यम गर्न सहयोग गर्दै आएका थियौं, अब उहाँहरुले उत्पादन गरेका वस्तुलाई बजारीकरण गर्न पनि साथ दिन्छौँ, सीपले उहाँहरुलाई आत्मनिर्भर बनाएको छ,’ उनले भने।
    रासस

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ