१४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ (१) मा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले दुवै क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको हो । तर कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय भने माओवादीले गरेको छैन ।
बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले इलाम २ र बझाङमा उम्मेदवारी दिने निर्णय गरे पनि उम्मेदवार टुंगो लाग्न बाँकी रहेको जानकारी दिए । ‘सबैले उठाउँछन् भने हामीले पनि उठाउने भनेर उम्मेदवारी दिने निर्णय भएको छ,’ उनले भने ।
नेकपा माओवादी केन्द्र कोशी प्रदेश समितिले इलाम- २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि गत मंगलबार धिरेन्द्र शर्मा तिम्सिना, उर्मिला तामाङ, ओमबहादुर गुरुङ र कुमार बराइलीको नाम सिफारिस गरेको छ ।