विराटनगर । शिक्षा सेवी एवं इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसका संस्थापक प्रिन्सिपल (प्रमुख) डा. खगेन्द्रनाथ शर्माको निधन भएको छ । आज बिहान ३ बजेतिर काठमाडौँमा उनको ९० वर्षको उमेरमा निधन भएको इलाम समाज काठमाडौँका राधेश्याम लेकालीले जानकारी दिए ।
इलामको सूर्योदय नगरपालिका–११, माघेका खगेन्द्रनाथ २०१७ सालमा २६ वर्षको उमेरमा महेन्द्ररत्न बहुमुखी क्याम्पसको संस्थापक प्रिन्सिपल बनेका थिए । स्थापनाका बेला उनले क्याम्पसलाई आफ्नो ४७ रोपनी जग्गा दान गरेका थिए ।
भारतको सागर विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उनले भारतबाटै विद्यावारिधि गरेका थिए । शर्माका परिवारमा दुई छोरा र एक छोरी छन् । पत्नीको यसअघि नै निधन भइसकेको छ ।