१ चैत, काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि गम्भीर प्रश्न उठाएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा सुरुमै उठेर कांग्रेसका सांसदहरु उठे । सभामुख देवराज घिमिरेले समय दिएपछि बोल्दै कांग्रेसका सांसद बद्रिप्रसाद पाण्डेले गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाएका हुन् ।
‘अनुसन्धानको कमाण्ड सम्हाल्नुपर्ने गृहमन्त्री नै अनुसन्धानको दायरामा हुने एकातिर गम्भीर नैतिक प्रश्न खडा भएको छ भने अर्कोतिर अनुसन्धान नै प्रभावित हुने आशंका बढाएको छ,’ उनले भने ।
गृहमन्त्रीमाथि गम्भीर नैतिक प्रश्न रहेको उनले दोहोर्याए । सहकारी पीडितहरु आन्दोलनमा रहेको उल्लेख गर्दै उनले सहकारी पीडितको माग कसरी सम्बोधन गर्नुहुन्छ भन्दै गृहमन्त्रीलाई प्रश्न गरे ।
उपप्रधानमन्त्री लामिछानेलाई उनको प्रश्न छ, ‘सहकारीको आदर्शविपरीत गर्न नहुने संस्थामा लगानी, दिन नहुने शीर्षकमा कर्जा, सेयर सदस्य नभएका व्यक्ति, पाउनै नपर्ने व्यक्तिले पाउनै नपर्ने ऋण प्रवाहको सघन आरोपबाट घेरिएका गृहमन्त्रीले यस्तै प्रकृतिका अन्य दोषीलाई कसरी कानुनी दायरामा ल्याउनुहुन्छ ?’
लामिछानेलाई रक्षाकवच बनाएर अन्य भ्रष्टाचारीलाई बचाउन खोजेको हो कि भन्ने आशंका पनि उनले गरे । सांसद पाण्डे थप्छन्, ‘कतै तपाईंको पोजिशनलाई रक्षाकवच बनाएर एक/दुई करोड मात्रको अभियोग लागेका तपाईंलाई श्रीखण्डीको भूमिकामा अगाडि सारेर दशौं अबौंको माछाहरु उम्काने प्रपन्चको तपाईं हतियार त बनिरहनुभएको त छैन ? मित्र रवि लामिछानेलाई यो सुझाव दिनु मितवत कर्तव्य नै ठान्दछु ।’