सत्तारूढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई कुनै हालतमा एउटा धर्म विशेषको बनाउन नसकिने बताएका छन् । देश कुनै एउटा जातिविशेष, धर्मविशेष र भूगोल विशेषको नभई सबैको साझा भएकाले एउटा धर्म विशेषको बनाउन नसकिने स्पष्ट पारेका हुन्।
बुधबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै ओलीले भने, ‘यो देश एउटा जाति विशेषको होइन, एउटा धर्म विशेषको होइन, यो सबै जनताको साझा राज्य हो। त्यसकारण यो देशलाई कुनै जाति विशेषको, धर्म विशेषको र भूगोल विशेष बनाउन सकिँदैन।’
ओलीले डेमोक्रेसीमा यस्ता कुराहरू सबैले बुझ्नुपर्ने र देशलाई एकताबद्ध बनाउनुपर्ने बताए। उनले भने, ‘आफ्नो धर्म, संस्कृति, परम्परा, भाषा र भेषभूषाको अभिवृद्धि गर्न पाइन्छ। तर देशमा साम्प्रदायिकताको आगो झोसेर देश अगाडि जाँदैन।’
गत फागुन ७ देखि १० सम्म बसेकाे कांग्रेसकाे महासमितिमा हिन्दुधर्मकाे पक्षमा भएकाे हस्ताक्षर संकलनकाे विषयलाई लिएर ओलीले यस्ताे धारणा राखेका हुन्।