काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिन नेपाली कांग्रेसले ह्विप जारी गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सोमवार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन ह्विप जारी गरेका हुन् ।
कांग्रेसले आफ्ना सांसदहरूलाई फागुन ३० को संसद बैठकमा अनिवार्य उपस्थिति हुन निर्देशन दिएको छ । प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धन बनाएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।
सरकारलाई समर्थन गरेको दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिने संवैधानिक व्यवस्था छ ।
कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले फागुन ३० गते विश्वासको मत लिने प्रयोजनका लागि आइतबार संसद सचिवालयलाई पत्र पठाएका छन् ।