काठमाडौं– नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आगामी संसदीय निर्वाचनमा गोरखा–२ बाट उम्मेदवारी दिने निर्णय गरेका छन्। भट्टराईनिकट नेसपाका नेता विश्वदीप पाण्डेले आगामी चुनावमा गोरखा–२ बाट भट्टराई उम्मेदवार हुने बताएका छन्।
२०७९ सालको चुनावमा गोरखा–२ बाट पुष्पकमल दाहाल प्रचण्ड विजयी भएका थिए। नेपाली कांग्रेससँग गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएका प्रचण्डका लागि बाबुरामले गोरखा–२ को ठाउँ खाली छाडेका थिए।
भट्टराई नेतृत्वको दलले माओवादीकै चुनाव चिह्न (गोलाकार भित्रको हँसिया हथौडा)मा चुनाव लडेको थियो। माओवादीसँगको सहकार्यमा नेसपा नेता महेन्द्र राय यादव सर्लाही २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। यादव प्रचण्ड नेतृत्वको सरकारमा केही दिन अगाडिसम्म खानेपानीमन्त्री थिए।
भट्टराईले केही दिन अगाडिसम्म लामो अवधि गोरखा–२ मा यात्रा गरेको र यात्राका क्रममा मतदाताहरुले आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न सुझाव दिएको पाण्डेको भनाइ छ। मतदाताहरुको सुझावलाई स्वीकार गर्दै भट्टराईले आगामी निर्वाचनमा उम्मेदवार हुने निर्णय गरेको पाण्डेले बताएका छन्।
‘नेसपा अध्यक्ष बाबुराम भट्टराई केही अघि लामो अवधि गोरखा यात्रामा हुनुहुन्थ्यो। त्यस क्रममा आफू यसअघिको चुनावमा विजयी भएको निर्वाचन क्षेत्र गोरखा २ का मतदाताहरुसँग बृहत् छलफल भएको थियो। सो क्रममा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई उहाँले स्वीकार गर्नुभएको छ। अब उहाँ २०८४ को निर्वाचनमा गोरखा २ मा उम्मेदवार हुनुहुनेछ,’ पाण्डेले सामाजिक सञ्जालमा लेखेका छन्।